६ मंसिर, बुधबार ।
बाँकेको नेपालगन्जस्थित रुपैडिहा-जमुनाहा नाकाबाट मुर्रा राँगा भित्र्याउन लागिएको छ । भारतले पठाएको १५ वटा मुर्रा जातको राँगा रुपैडिहा-जमुनाहा नाकाबाट भित्र्याउने तयारी भएको पशु सेवा विभागका सूचना अधिकारी डा.चन्द्र ढकालले जानकारी दिनुभयो । नेपाली प्राविधिक टोली भारत गएर राँगाको परीक्षण मापदण्ड पुरा गरेसँगै भारतले राँगा हस्तान्तरण गरेको उहाँको भनाइ छ । आज नेपालगन्जस्थित रुपैडिया-जमुनाहा नाकाबाट उक्त मुर्रा राँगा भित्रिने उहाँको भनाइ छ । उन्नत जात मुर्रा राँगा नस्ल सुधारका लागि भारतबाट उपहार स्वरूप ल्याउन लागिएको हो । सो राँगा नेपाल ल्याएपछि विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा, नेपालगन्ज र लहानमा राखिने छ । पोखरा, नेपालगन्ज र लहानबाटै वीर्य उत्पादन गरिनेछ । सोही स्थानबाट वीर्य सङ्कलन र संरक्षण गरिने छ ।