काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले सातै प्रदेशका लागि प्रदेश इन्चार्जहरू तोकेको छ। सोमबार बसेको पार्टी पदाधिकारी बैठकले विभिन्न प्रदेशका लागि जिम्मेवारी बाँडफाँड गरेको हो।
पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाका अनुसार कोशी प्रदेशको इन्चार्जमा उपमहासचिव हरिबोल गजुरेल, मधेश प्रदेशमा उपमहासचिव मातृका यादव, बागमती प्रदेशमा सचिव हितमान शाक्य तोकिएका छन्।
त्यस्तै, गण्डकी प्रदेशको इन्चार्ज सचिव दिनानाथ शर्मा, लुम्बिनीमा सचिव चक्रपाणी खनाल, कर्णालीमा स्थायी कमिटी सदस्य कालीबहादुर मल्ल, र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेललाई जिम्मेवारी दिइएको छ।
पार्टीले विशेष प्रदेश इन्चार्जका रूपमा जयपुरी घर्तीलाई तोकेको छ भने, सार्क प्रवास इन्चार्जमा लक्ष्मण पन्त, यूरोप-अमेरिका इन्चार्जमा राम कार्की, र एसिया इन्चार्जमा ओम शर्मालाई जिम्मेवारी दिएको छ।