काठमाडौं, फागुन २२ – नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले टिकापुर घटनासम्बन्धी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै मधेशवादी राजनीतिक दलहरुको कार्यदलसँग पहल गरिदिन आग्रह गरेको छ।
सोमबार सिंहदरबारमा बसेको मधेशवादी ८ राजनीतिक दलहरुको बैठकमा नाउपा संरक्षक तथा पूर्वसांसद रेशम चौधरीले प्रतिवेदन सार्वजनिक गराउन पहल गर्न आग्रह गरेका हुन्। चौधरीले सो प्रतिवेदनले टिकापुर घटनाको यथार्थ बाहिर ल्याउने भन्दै सरकारले तत्काल सार्वजनिक गर्नुपर्नेमा जोड दिए।
लाल आयोगको प्रतिवेदन टिकापुर घटनाका कारण, पृष्ठभूमि र दोषी पहिचानसम्बन्धी महत्वपूर्ण दस्तावेज मानिन्छ। सरकारको तहबाट प्रतिवेदन सार्वजनिक नहुँदा विभिन्न राजनीतिक दल र सरोकारवालाहरुले पटक–पटक माग उठाउँदै आएका छन्।
बैठकमा मधेशवादी दलका नेताहरुले लाल आयोगको प्रतिवेदन सार्वजनिक गराउने विषयमा थप छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।