१२ मंसिर, मंगलबार ।
धनुषाको मिथिला नगरपालिका-२ स्थित रहेको सतलोक आश्रममा १३ जना जोडीको सामूहिक आदर्श तथा अन्तरजातीय विवाह सम्पन्न भएको छ । शन्त रामपाल महराजले स्थापना गरेको आश्रममा ५१०औं तीन दिवसीय दिव्य धर्म यज्ञको अवसरमा१३ जोडीको सामूहिक विवाह गराइएको हो । सोमबार असुर निकन्द रमेणी मन्त्रको उच्चारण गरी १७ मिनेटमा १३ जोडीको सामूहिक विवाह सम्पन्न गराइएको शन्त रामपालका अनुयायी इश्वरदत्त भट्टले जानकारी दिए । उनका अनुसार विवाह सम्पन्न हुने चार जोडी नेपाल र ९ जोडी भारतका छन् । असुर निकन्दन रमेणी मन्त्रको उच्चारण गरी १७ मिनेटमा सम्पन्न गरिने भएकाले यसलाई रमेणी विवाह पनि भनिन्छ । यो विवाह पूणर्तः आदर्श एवं दाइजोमुक्त हुन्छन् । जातीय वा अन्तरजातीय विवाह गर्नु पहिले सबै जोडीका अभिभावकको अनुमति एवं उपस्थिति अनिवार्य हुनुपर्ने भट्ट बताउँछन् । आइतबारदेखि चलिरहेको तीन दिवसीय दिव्य धर्म यज्ञमा शन्त गरीब दासज महाराजको अमरवाणी अखण्ड पाठ, रक्तदान शिविर, विशाल भण्डारा तथा दाइजोमुक्त विवाह कार्यक्रम भइरहेको आश्रमले जनाएको छ ।