१७ कात्तिक, सुक्रबार
उपप्रधान एवम रक्षामन्त्री पूणर्बहादुर खड्काले देश र जनताको हित तथा मुलुकको प्रगति हुने निणर्यका लागि कलम चलाउन कोही पनि डराउन नहुने धारणा राख्नुभएको छ । आज रक्षा मन्त्रालयमा भएको त्रैमासिक समीक्षा बैठकमा उपप्रधानमन्त्री खड्काले केवल देश र जनताको हित, प्रगति मात्र ध्यानमा राखेर काम गरे कुनै पनि निणर्य गर्ने अधिकारीले कलम चलाउन डराउन नपर्ने बताउनुभएको हो । कुनैपनि काम गर्दै स्वार्थ, लोभ र डरबाट मुक्त भएर काम गर्न उहाँले मातहतका निकायलाई निर्देशन समेत दिनुभयो । रक्षामन्त्री समेत रहनुभएका उपप्रधानमन्त्री खड्काले तराई-मधेस दु्रतमार्ग नेपाली सेना र नेपालकै लागि प्रतिष्ठाको विषय भएकाले यसलाई समयमै सम्पन्न गर्ने विषयमा कुनै सम्झौता गर्न नसकिने पनि प्रष्ट पार्नु भयो । यसमा निणर्य गर्ने अधिकारीदेखि काम गर्ने ठेकेदारसम्मले कुनैपनि बाहनामा ढिला सुस्ती गरे त्यसमा सरकार कडाइका साथ जाने पनि उपप्रधानमन्त्री खड्काले प्रष्ट पार्नुभयो ।