नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडका जनताको आवाज लगेर सरकारको ध्यानाकर्षण गराउने बताउनु भएको छ । एमालेले आयोजना गरेको समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा बागलुङको बुर्तिवाङ र बोहोरागाउँमा आयोजित कार्यक्रममा ओलीले समृद्धिको यात्राका लागि मध्यपहाडमा विकास चाहिएको बताउनुभयो । सो अवसरमा अध्यक्ष ओलीले आम कार्यकर्तालाई राजनीतिबाट माथी उठेर विकास निर्माणमा लाग्नसमेत अपिल गर्नुभयो । उहाँले उत्पादनमूलक काममा सबै लाग्न सके देशको आर्थिक समृद्धि सम्भव हुनेसमेत बताउनुभयो । मध्य पहाडमा उत्पादन बढाएर युवा रोजगार सिर्जना गर्न राज्यका सबै निकायमा पहल गर्नेसमेत उहाँको भनाइ थियो । समृद्धिको यात्राकै लागि एमालेले बैतडीको झुलाघाटदेखि ताप्लेजुङको चिवा भञ्ज्याङसम्मको समृद्धि यात्रा गरेकोसमेत दाबी गर्नुभयो । यात्राकै क्रममा ओलीसहित एमालेका १ सय ५० भन्दा बढी केन्द्रीय नेताहरू हिजो बागलुङको बुर्तिवाङ आएका थिए ।