प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिगो विकासका लागि सरकारी तथा निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । काठमाडौँमा आज एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १९ मुलुकका निर्माण व्यवसायीको छाता संस्था इफाप्काको ४६ औं सम्मेलन अन्र्तगत ‘दिगो पूर्वाधारमा साझेदारी’ विषयक फोरमको उद्घाटन गर्दै उहाँले वर्तमान सरकारले सरकारी तथा निजी क्षेत्रको सहकार्यलाई प्राथमिकतामा राखेको बताउनुभयो । आपसी सहकार्यबाटै आर्थिक समुन्नती सहितको सामाजिक तथा वातावरणीय हिसाबले दिगो विकासको लक्ष्य हासिल गर्न सकिने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । नेपालले सन् २०४५ सम्म कार्वन उत्सर्जन शून्यमा ल्याउने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले विकास निर्माणको काम पनि त्यसैअनुसार गर्न सम्बन्धित् निकायको ध्यानाकर्षण गराउनुभयो । एशिया प्रशान्त क्षेत्रमा दिगो विकासको अझ बढी महत्व रहेको र यस विषयमा नेपाल सरकार जानकार रहेको समेत प्रधानमन्त्री प्रचण्डले स्पष्ट पार्नुभयो । सम्मेलन भोलि सकिने छ ।