१७ कात्तिक,सुक्रबार
झुटो विवरण पेस गरी नागरिकता लिएको भन्दै सरकारले दुईजनाको नागरिकता बदर गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकको निणर्य आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दुई जनाको नेपाली नागरिकताको प्रमाणपत्र सरकारले बदर गरेको जानकारी दिनुभयो । उहाँका अनुसार काभ्रेपलाञ्चोकबाट लिएको निमा तामाङको नागरिकता र कालिकोटका देवराज धमलाको नागरिकता रद्द गर्ने निणर्य भएको हो । तामाङको नाममा झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकबाट वंशजको आधारमा जारी भएको र धमलाको नाममा जिल्ला प्रशासन कार्यालय, कालिकोटबाट जारी भएको नागरिकताको प्रमाणपत्र रद्द गरी नेपाली नागरिकबाट हटाउने निणर्य गरेको छ । बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको छ । फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र सोपश्चात संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्न यही कार्तिक २२ गते काठमाडौँबाट प्रस्थान गरी मंसिर १ गते स्वदेश फिर्ता हुने गरी भ्रमण कार्यक्रम स्वीकृत गर्ने निणर्य भएको मन्त्री शर्माले जानकारी दिनुभयो ।