काठमाडौँ, माघ १३ – जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय अनुशासन विभागले आफ्नो संगठनात्मक सुदृढीकरणतर्फ थप महत्वपूर्ण कदम चालेको छ। सप्तरीको भारदहमा सम्पन्न अनुशासन विभागको बैठकले विष्णुकुमार लावतीलाई उपाध्यक्ष र रामगोविन्द यादवलाई सचिव पदमा मनोनयन गरेको छ।
अध्यक्ष जगदेव यादवको अध्यक्षतामा सम्पन्न बैठकले विभागका अन्य रिक्त पदाधिकारीहरूको पूर्तिका लागि आगामी बैठकमा निर्णय लिने योजना बनाएको छ। बैठकले पार्टी अनुशासनको सुदृढीकरण, आन्तरिक समस्या समाधान, र संगठनात्मक एकतालाई मजबुत बनाउने विषयमा गहन छलफल गरेको थियो।
बैठकका अध्यक्ष यादवले अनुशासन विभाग पार्टीको मेरुदण्ड रहेको उल्लेख गर्दै नव मनोनित उपाध्यक्ष र सचिवलाई जिम्मेवारीप्रति निष्ठावान रहन आग्रह गर्दै उनले पार्टी अनुशासनको महत्व र यसले पार्टीको क्रियाकलापमा पार्ने प्रभावमाथि प्रकाश पारे।
नव मनोनित उपाध्यक्ष विष्णुकुमार लावती र सचिव रामगोविन्द यादवले आफुहरूलाई दिएको जिम्मेवारीप्रति आफूहरू प्रतिबद्ध रहेको बताएका छन्। उनीहरूले पार्टीमा अनुशासन कायम गर्दै सदस्यहरूको विश्वासलाई कायम राख्न सक्दो योगदान दिने प्रतिवद्धता जनाएका छन्।
बैठकमा पार्टीका अन्य वरिष्ठ नेताहरू, विभागीय सदस्यहरू, र स्थानीय नेताहरूको पनि उपस्थिति रहेको थियो। बैठकले पार्टीका नीतिगत मुद्दाहरू र आन्तरिक संरचनालाई सुधार गर्दै, आगामी योजनाहरू प्रभावकारी ढंगले कार्यान्वयन गर्न आवश्यक रणनीति तय गरेको छ।
बैठकले जसपा नेपालको अनुशासन विभागलाई थप सक्रिय बनाउँदै संगठनलाई मजबुत बनाउन निरन्तर कार्य गर्ने प्रतिवद्धता प्रकट गरेको छ। यस कदमले पार्टीभित्रको अनुशासन र एकतामा महत्वपूर्ण प्रभाव पर्ने विश्वास गरिएको छ।