उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ । हिजो बेलुकी गंगालाल हृदय केन्द्र बाँसबारीमा उनको शल्यक्रिया गरिएको हो । गृह मन्त्रालयका अनुसार अहिले उहाँको अवस्था स्थीर छ । मन्त्री श्रेष्ठको मुटुको देव्रे नसाको एन्जिओप्लास्टी गरिएको उहाँको सचिवालय विजय गौतमले जानकारी दिनुभयो । मन्त्री श्रेष्ठलाई छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको थियो । उहाँको मुटुको रक्तनलीमा आंशिक अवरोध देखिएपछि शल्यक्रिया गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा डा. अरुण मास्केसहितको चिकित्सक टोलीले मन्त्री श्रेष्ठको एन्जिओप्लास्टी सर्जरी गरेको र मन्त्री श्रेष्ठ सघन उपचार कक्षमा उपचाररत रहेको उल्लेख छ । यसअघि चीन भ्रमणको बेला पनि उहाँको स्वास्थ्यमा समस्या देखिएपछि बेइजिङको अस्पताल भर्ना गरी मुटुको उपचार गरिएको थियो ।
यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । आज बिहान गंगालाल अस्पताल पुगेर प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।