काठमाडौँ — राष्ट्रपति निर्वाचनका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अगाडि सारेका आठ दलहरूले कार्यदल गठन गर्ने भएका छन् । प्रत्येक दलबाट एक–एक जना सदस्य रहेको कार्यदल गठन गरेर राष्ट्रपति निर्वाचन कार्यक्रम संचालन र व्यवस्थापन गर्ने समझदारी भएको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार साँझ बालुवाटारमा आठ दलको बैठक बोलाएका थिए । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले राष्ट्रपतिको चुनावका लागि आठ राजनीतिक दल मिलेर कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको बताइन् ।
आठ दलीय गठबन्धनमा माओवादी केन्द्र, कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी छन् ।
जसपा नेता श्रेष्ठका अनुसार राष्ट्रपति निर्वाचनमा मिलेर अगाडि बढ्ने सन्दर्भमा निर्वाचन प्रचार कार्यक्रम कसरी व्यवस्थित गर्ने भन्ने विषयमा केही समझदारी भएको थियो ।
आइतबारको बैठकमा भएका विषयलाई आफ्ना दलका सांसदहरूसम्म पु¥याउनका लागि सबै दलहरूले यसबीचमा संसदीय दलको बैठक राख्ने र छलफल गर्ने समझदारी भएको पनि श्रेष्ठले जानकारी दिए ।
राष्ट्रपति निर्वाचनका लागि समीकरण बन्नुमा संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशीता तथा संविधानको रक्षालाई आधार मान्ने विषयमा पनि दलहरू एकमत रहेको श्रेष्ठले बताए ।
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ भने चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुने भएको छ । राष्ट्रपति पदका लागि आठ दलको समर्थनमा रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।