नेपाली काँग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले आसन्न महासमिति बैठकको तयारीबारे छलफल गर्न दिउँसो १ बजेका लागि बैठक बोलाउनु भएको हो । काँग्रेस केन्द्रीय सदस्य एवम् सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार देउवा निवास धुम्बाराहीमा बस्ने बैठकमा महासमितिमाथि केन्द्रित छलफल हुनेछ । काँग्रेसले आगामी पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक गर्न लगाएको छ । काँग्रेसले महासमिति बैठकका लागि नीतिगत प्रस्ताव उपसभापति पूणर्बहादुर खड्का, साङ्गठनिक प्रतिवेदन महामन्त्री गगनकुमार थापा र समसामयिक राजनीतिक प्रतिवेदन महामन्त्री विश्वप्रकाश शर्माले तयार गर्ने जिम्मा दिएको छ । आर्थिक प्रतिवदेन कोषाध्यक्ष नियुक्त नभएकाले केन्द्रीय लेखासमितिका संयोजक श्याम घिमिरेले प्रस्तुत गर्ने बताईएको छ ।