३० असोज.बुधबार
कम परिमाणमा पेट्रोल बिक्री गरेको आरोपमा अनुगमन टोलीले एक पम्पमा सिल गरेको छ । काठमाडौं गैरीगाउँको भ्याली बाबा सप्लायर्सलाई तत्काल इन्धन बिक्रीमा रोक लाग्ने गरी सिल गरिएका छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गुणस्तर तथा नापतौल विभाग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल आयल निगमको संयुक्त टोलीले पम्पमा अनुगमन गर्दा कम परिमाणमा इन्धन दिएको पाएपछि सिल गरिएको टोलीका एक सदस्यले बताए ।
‘निगमले तोकेको बराबरकै मूल्य तोकेर कम मात्रामा तेल दिने गरेको भेटियो’, उनले भने ।
अनुगमन क्रममा टोलीले ३ पटकसम्म तेल भर्न लगाएको थियो । दुई पटकसम्म एक लिटर तेल भर्न लगाउँदा परिमाण नपुगेको पाइएको थियो । मंगलबार संयुक्त अनुगमन टोलीले काठमाडौंका ३ वटा पेट्रोल पम्प अनुगमन गरेको थियो । नयाँ बानेश्वरको थ्रीब्रदर्श पेट्रोल पम्प, ललितपुरको झासा पेट्रोल पम्प र गैरीगाउँको उक्त पम्पमा अनुगमन भएको थियो । जसमध्ये २ वटा पम्पमा भने कैफियत नदेखिएको अनुगमन टोलीले जनाएको छ । भ्याली बाबा सप्लायर्सलाई तत्काल इन्धन बिक्रीमा रोक लाग्ने गरी सिल गरिएको र थप कारबाहीका लागि अनुसन्धान जारी राखेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।