९ कात्तिक, बिहीबार ।
इजरायल र हमासबीच १८ दिनदेखि जारी लडाइँमा परी मृत्यु हुनेको संख्या ६ हजार ५०० भन्दा धेरै पुगेको छ । इजरायल र प्यालेस्टिनी चरमपन्थी समूह हमासबीच भएका युद्धका कारण स्थिति निकै दर्दनाक अवस्थामा पुगेको छ । खासगरी गाजा क्षेत्रको अवस्था यति धेरै निराशाजनक छ कि आमा-बाबुहरुले आफ्ना बालबच्चाको हात र खुट्टामा नाम लेखिदिन थालेका छन् ताकि आक्रमणमा परी मृत्यु भएमा आफ्ना छोरा-छोरीको शव चिन्न सकियोस् । बीबीसीका अनुसार खान युनिसमा शरण लिएर बसिरहेको एक परिवारले आफ्नो बच्चालाई बैजनी र कालो रंगको ब्रासलेट लगाइदिएको फोटोसहितको समाचार प्रकाशित गरेको छ । सो समाचारमा लेखिएअनुसार उक्त ब्रासलेटमा बच्चाको नाम लेखिएको छ । किनभने कथंकदाचित इजरायल-हमास युद्धमा त्यो बच्चाको मृत्यु भएमा त्यही ब्रासलेट र ब्रासलेटमा लेखिएको नामबाट बच्चाको पहिचान खुलोस् । गत हप्ता सामाजिक सन्जालहरुमा आमा-बाबुले आफ्ना बालबच्चाको हात-खुट्टामा नाम लेखिरहेको भिडियो सार्वजनिक भएको थियो । यसका साथै मुटु काँप्ने फोटो पनि सार्वजनिक भएको थियो, उक्त फोटोमा अस्पतालको शवगृहमा बच्चाहरुको शव लहरैसँग राखिएको थियो । ती मृतक बच्चाहरुको ट्राउजर माथि सार्दै अभिभावकले आफ्नो बच्चाको नाम हेरिरहेका थिए । हमासले इजरायलमा ७ अक्टुबरमा एक्कासी आक्रमण गरेपछि इजरायलले युद्ध घोषणा गर्दै जवाफी कारबाही सुरु गरेको थियो । हमासको आक्रमणमा परी १० नेपालीसहित १ हजार ४०० जनाको मृत्यु भएको पुष्टि भएको छ भने इजरायलले गरेको जवाफी कारबाहीमा सर्वसाधारणसहित ६ हजार ५०० भन्दा धेरै मारिएको हमासले जनाएको छ । हमासलाई लक्षित गरी आक्रमण गरेको भनिए पनि यसबाट ठूलो संख्यामा बालबालिकाहरुसहित सर्वसाधारण नागरिकहरु मारिएका अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । हमासका अनुसार इजरायलको हवाई हमलामा परी २ हजार ७०० भन्दा बढी बालबालिकाको मृत्यु भइसकेको छ । हमासका अनुसार गत २४ घण्टामा ७५६ जनाको मृत्यु भएको छ भने त्यसमा ३४४ जना बालबालिकाहरु छन् । बीबीसीका अनुसार यो संख्या एकैदिनमा मृत्यु भएको हालसम्मकै धेरै हो ।