२६ पुस, काठमाडौं । ७ पुसमा १८६७.२१ अंकमा बन्द भएको सेयर बजार परिसूचक (नेप्से) २५ पुसमा आइपुग्दा २२११.७७ अंक पुगेको छ । ११ पुसमा नयाँ सरकार बनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र विष्णु पौडेल अर्थमन्त्री भएयता बजार सोमबारसम्म परिसूचक नेप्सेमा ३४४.५६ अंकले वृद्धि भएको छ ।
प्रचण्ड तीनै व्यक्ति हुन्, जसले १८ मंसिर २०७८मा सेयर बजारको लगानीलाई साम्राज्यवादका विकसित रुप भनेका थिए । ‘पूँजीबजारबाट पूँजीपतिहरुले सिधै पूँजीबाट पूँजी लिने गर्दछ । अब पूँजीको लगानी उत्पादनमा हुँदैन । धितोपत्रमा र सट्टा बजारमा हुन्छ , ‘ उनले भनेका थिए, ‘..अहिले विश्वभर नै सेयर बजारमा लगानी बढ्न थालेको छ । विश्वभर नै यो क्षेत्रमा पूँजी लगानी बढ्दै गएकाले यसको अध्ययन अनुसन्धान र विश्लेषण गर्नु जरुरी छ । यस प्रकारमा विकृतिको विष्लेषण गरेर यससँग लड्ने तरिका खोज्ने अभिभारा माओवादीको हो । यसको अनुसन्धान नगरेसम्म देशमा, मुलुकको अर्थतन्त्रमा उज्यालो पनि आउँदैन ।’
तर, उनकै नेतृत्वमा सरकार गठनपछिको सेयर बजार खुलेको ११ दिनमा ९ दिन बजार परिसूचक बढिसक्यो । मंगलबार पनि सुरुवाती समयमा बजार बढ्दो क्रममा छ । ७ पुसमा २७ खर्ब रहेको कुल बजार पूँजीकरण २५ पुसमा आउँदा ३१ खर्ब ९३ अर्ब नाघेको छ ।
यस्तो किन भयो त ? यसका खास कारण के हो भन्ने सेयर विश्लेषकले समेत बुझ्न सकेका छैनन् । तर, धेरैको अनुमान छ, यो सेयर लगानीकर्तालाई हौस्याउने गरी सीमित ठूला लगानीकर्ता र सेयर दलालहरुले ‘बुलिस अर्थमन्त्री आए’ भन्दै चलाएको हल्लाको परिणाम हो ।
पौडेल अर्थमन्त्री नियुक्त भएकै दिनदेखि सेयर बजार बढ्ने क्रम देखिएकाले पनि यस्तो हल्लामा विश्वास गर्नेहरु बाक्लिंदै गएका छन् । अझ पौडेल अर्थमन्त्री भएपछि नेपाल राष्ट्र बैंकले चालु पूँजीकर्जा मार्गदर्शनलाई सरल बनाउँदै संशोधनहरु गरिदिए यस्तो चर्चा गर्नेहरुलाई प्रोत्साहन मिलेको छ । र, यस्ता कारणहरुले लगानीकर्ताहरुमा आत्मविवश्वास बढ्दै गएको पनि देखिन्छ ।
यसअघि लगातार घटिरहेको बजारमा लगानी फसाएकाहरु घाटा व्यवस्थापन गर्न बजारमा फर्किएका छन् ।
अर्थतन्त्रको ऐना मानिने सेयर बजारमा यसअघिको कांग्रेस नेतृत्वको सरकार रहिन्जेल निराशा मात्रै देखिएको थियो । अर्थतन्त्रमा आएका समस्याहरुको असर सेयर बजारमा परेको थियो ।
तर, नयाँ सरकार आएपछि अर्थतन्त्रको आधारभूत सूचकमा रातारात त्यस्तो केही बदलिएको देखिंदैन, तर बजारमा दैनिक हरियाली छ र कारोबार रकम बढेको बढ्यै छ । पछिल्लो ३ दिन नेप्सेमा लगातार ५ अर्ब माथिको कारोबार हुनुले बजारको आत्मविश्वासलाई पुष्टि गर्छ ।
सबैजसो उपसूचकमा वृद्धि हुँदा बजारमा ठूलो हिस्सा रहेको हाइड्रोपावरको उपसूचक नै ३४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । निर्जीवन बीमा कम्पनी उपसूचक ३० प्रतिशत भन्दा बढीले वृद्धि हुँदा जीनव बीमा उपसूचक पनि २४ प्रतिशतले बढेको छ । त्यसमाथि बैंकिङ उपसूचक १०.६४ प्रतिशतले बढ्दा नेप्से उकालोतिर छ ।
दिगोपनमा आशंका
पौडेलले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेकै दिन अर्थतन्त्रमा देखिएका समस्या समाधानमा पहल गर्ने बताएका थिए । अहिलेसम्म उनले त्यस्तो ठोस कदम चालेको देखिएको छैन । र पनि सेयर बजारले नयाँ सरकारलाई विश्वास देखाइहेको छ ।
विगतमा पौडेल अर्थमन्त्री बन्दा सेयर बजार बढेको उदहारण दिएर यसपटक पनि अब सेयर लगानीमैत्री वातावरण तयार हुने भन्दै सामाजिक सञ्जालका सेयर बजारसम्बन्धी विभिन्न समूहहरुमा ‘बुलिस ट्रेन्ड’ समात्ने चर्चा भइरहेको छ । त्यस्तो चर्चालाई पछिल्लो दिनको बजार वृद्धिले मलजल गरेको छ ।
२०७३ मा नेप्से १९८१ अंकमा पुग्दा पनि पौडेल नै अर्थमन्त्री थिए भने २०७७ देखि सेयर बजार बढ्न सुरु गर्दा २०७८ असारसम्म अर्थमन्त्रीमा पौडेल नै थिए । त्यसैले उनलाई ‘बुलिस मन्त्री’ उपमा दिएर बजार बढाउने ध्याउन्नमा स्वार्थ समूहहरु छन् ।
तर, प्रश्न बाँकी छन्, सेयर बजारले अहिले पाइरहेको वृद्धि कतिको दिगो होला त ? सेयर लगानीकर्ताले भुलेका छैनन् कि २ भदौ २०७८ मा ४४ खर्ब ६८ अर्ब बजार पूँजीकरणसहित करिब ३२०० को नजिक पुगेर घट्न सुरु भएको नेप्से त्यसयता घटेर १८०० सम्म झरेको थियो । बजार यसरी गर्यो कि दैनिक दैनिक करिब २२ अर्बसम्म पुगेको बजारको कारोबार रकम ५० करोडसम्म र्झन पुग्यो ।
अहिले फेरि बजार परिसूचकसँगै कारोबार रकम मात्रै बढेको छैन, लगानीकर्ताको सम्पत्ति पनि बढेको छ । सेयर बजार बढ्दै जाँदा बजार प्रवेश गर्ने लगानीकर्ताको संख्या पनि बढ्दै गएको छ ।
७ पुसम्म औसत २० देखि २५ हजार रहेको दैनिक कारोबार संख्या बढेर पछिल्लो तीन कारोबार दिनमा लगातार ७० हजार नाघेको छ । यसले पनि बजारमा प्रवेश गर्ने र फर्किने लगानीकर्ताको संख्या पनि बढ्दै गएको देखिन्छ ।
धितोपत्र बजारमा सेयर मूल्यलाई आर्थिक र गैरआर्थिक दुबै कारणले प्रभावित पर्ने धितोपत्र बजारका विज्ञ डा. गोपाल भट्ट बताउँछन् । धितोपत्र बजारमा सेयरको मूल्य बजारमा उपलब्ध सूचनाहरुले प्रभावित बन्ने उनले बताए ।
बजारमा उपलब्ध हरेक सूचनालाई सेयर मूल्यले प्रतिक्रिया जनाउनुपर्ने उनको भनाइ छ । पछिल्लो समय नेपालको आर्थिक सूचकहरुमा कुनै परिवर्तन नभएपनि अहिले गैरआर्थिक कारणहरुबाट बजार बढिरहेको उनको विश्लेषण छ ।
सैद्धान्तिक रुपमा सेयरको मूल्य माग बढ्दा बढ्ने र घट्दा घट्ने उनले बताए । ‘माग घटबढ लगानीकर्ताको अपेक्षाले हुन्छ । अहिलेका अर्थतन्त्रीप्रति लगानीकर्ताको सकारात्मक अपेक्षा हुनसक्छ, त्यसको केही लक्षण लगानीकर्ताले देखे,’ डा. भट्ट भन्छन्, ‘बजारले वर्तमान अर्थमन्त्री लगातीकर्तामैत्री र लगानीकर्ताको कुरा सुन्ने खालको छन् भन्ने बुझेको हुन सक्छ ।’
दुईपटक अर्थमन्त्री हुँदा बजार बढेको देखेका लगानीकर्ताले फेरि बजारका समस्या सामधानमा पहल हुन्छ भन्ने अपेक्षा गरेको हुनसक्ने उनले बताए । उनका अनुसार यस्ता कारणहरुले तल गइरहेको बजारमा केही सकारात्मक संकेत देखिएपछि ‘स्पेकुलेटर’ले पनि बजार प्रवेश गर्छन् र त्यसले पनि प्रभ्ाव पर्छ ।
आर्थिक सूचक भन्दा पनि अपेक्षाको आधारमा भएको सुधार देखाएर ‘स्पेकुलेटर’ बजारमा विभिन्न भ्रम फैल्याउने गरेकाले नयाँ प्रवेश गर्ने लगानीकर्तालाई जोखिम भने हुने उनले बताए । यस्ता भ्रम फैल्याएर आफू बाहिरिने खेल पनि हुनसक्ने आधारभूत पक्षको विश्लेषण गरेर मात्रै लगानी गर्नुपर्ने उनको भनाइ छ । अर्थतन्त्रको आधारभूत परिसूचक सकारात्मक भएर बढेको बजार नै दिगो हुने उनले बताए ।
अनुभवी लगानीकर्ता अम्बिका पौडेल पनि बजार बढ्दो अवस्थामा रहेका बेला लगानीकर्ताले विवेक गुमाउने जोखिम हुने बताउँछन् । सेयर बजार असाध्यै प्राविधिक लगानी भएकाले राम्रो ज्ञान, विवेक र तथ्यांक तथा त्यसको विश्लेषण गर्ने क्षमता चाहिने उनले बताए ।
‘हाम्रोमा पूँजीबजारको लगानी जोसँग जति पैसा र समय छ, उसले सजिलै लगानी गर्न सक्छ । अन्य कुनै पनि क्षेत्रमा यसरी लगानी गर्न सकिंदैन,’ उनले भने, ‘पूँजीबजारमा छिट्टै आफ्नो लगानीको प्रतिफल देखिन्छ । आज किनेको आजै मूल्य बढ्यो भने यति नाफा भइसकेछ भन्ने हुन्छ । त्यही लोभले मान्छेलाई आकर्षण गर्छ । बढ्दो बजारको लोभले मान्छेलाई ‘क्रेजी’ बनाउँछ ।’
यस्ता कारणले पूँजी बजारमा लगानी गर्ने जो कोहीले पनि अली बढी नै विवेक गुमाउने गरेको उनले बताए । पूँजीबजारमा लगानी गर्दा जहिले पनि आधारभूत पक्ष बलियो कम्पनी अथवा आज गरेको लगानी र भोलि प्राप्त हुने प्रतिफलमा के कति तादम्यता छ भनेर हेर्न र बुझन सक्नुपर्ने उनको भनाइ छ ।
‘कम्पनीको फण्डमोन्टल र त्यसको प्रतिफल विश्लेषण गर्न सक्ने हो भने सेयर बजारमा गरिएको लगानी साँच्चै उपयुक्त लगानी हुन्छ । त्यो लगानीले राम्रो प्रतिफल पनि दिन्छ,’ उनले भने ।
सेयरबजारमा सबै किसिमका लगानीकर्ता चाहिने उनले बताए । बजारमा ‘स्पेकुलेटिभ’ लगानीकर्ता पनि चाहिने भन्दै उनले बजारमा ‘इन्डेक्स’ भन्दा पनि कम्पनीको ‘फण्डामेन्टल’ विश्लेषण गरेर लगानी गर्ने लगानीकर्ता घाटा खानु नपर्ने बताए ।
लहै-लहैमा बजारमा लगानी गर्नेहरु सचेत हुनुपर्ने भन्दै उनले देखिएको ‘स्विङ’को आधारमा नभई आधारभूत पक्षहरुको विश्लेषण गरेर लगानी गर्न सकिए मात्रै दिगो र राम्रो प्रतिफल पाइने पौडेलको भनाइ छ ।
‘बजार घट्दा तुलनात्मक रुपमा सबैमा घाटा हुन्छ । तर, फण्डामेन्टल राम्रो भएको कम्पनीमा बजारले गति समाउँदा तत्कालै घाटा रिकभर हुन्छ,’ उनले भने,’लगानी गर्नेहरुले यस्ता आधारभूत पक्षलाई केलाएनन् भने बजारको वृद्धिले दिगोपन पाउँदैन ।’