७ मंसिर, बिहीबार ।
आज हरिबोधनी एकादशी पर्व मनाइँदै छ । चार महिनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आ-आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिङ्गारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ । हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरूमध्ये सबैभन्दा महत्वपूणर् एकादशीको रुपमा लिइन्छ । आजको दिन सखरखण्ड, पिंडालु आदि कन्दमूल र फलफूल प्रसादको रुपमा खाने गरिन्छ । आज बिहानैदेखि काठमाडौँ उपत्यकाका चार नारायण-चाँगुनारायण, इचङ्गु नारायण, विशङ्खुनारायण र शेषनारायण)लगायत देशभरका विष्णु मन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ । हरिबोधनी एकादशीको अवसरमा गुल्मीका रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।