९ कातिक, बिहीबार ।
विश्वकप क्रिकेटमा आज इङ्ल्यान्ड र श्रीलङ्का खेल्दैछन् । खेल दिउँसो सवा २ बजेपछि भारतको बैङ्लुरुमा सुरु हुनेछ । दुबै टोलीले प्रतियोगितामा अहिलेसम्म खेलेका चार मध्ये एक खेलमा मात्र जित हात पारेका छन् । श्रीलङ्का तालिकाको सातौँ र इङ्ल्यान्ड आठौँ नम्बरमा छन् । विश्वकप क्रिकेटअन्तर्गत गएराती सकिएको खेलमा अस्ट्रेलियाले नेदरल्यान्ड्सलाई हराएको छ । ४०० रनको लक्ष्य पाएको नेदरल्यान्ड्सलाई २१ ओभरमा मात्र ९० रनमा अलआउट गर्दै अस्ट्रेलिया ३ सय ९ रनले विजयी भएको हो । अस्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिनुभयो । जितसँगै पाँच खेलबाट छ अंक भएको अस्ट्रेलियाको सेमिफाइनल प्रवेशको सम्भावना बलियो भएको छ । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ग्लेन म्याक्सवेलले कीर्तिमानी सतकसँगै ३९९ रन बनाएको थियो । म्यासवेलले ४० बलमा शतक प्रहार गर्दै विश्वकप क्रिकेटमा सबैभन्दा कम बलमा शतक बनाउने कीर्तिमान आफ्नो नाममा लेखाउनुभयो । उहाँले १०६ रन बनाउनुभयो । यस्तै डेभिड वार्नरले १०४ र स्टिभ स्मिथले ७१ रनको योगदान गरेपछि अस्ट्रेलियाले ४०० रनको लक्ष्य दिएको थियो ।