सर्लाही, अपहरणमा परेकाे बालककाे सकुशल उद्धार गरिएकाे छ । सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका–४ स्थित रामजी साहको घरमा भारतीय १५ वर्षीय बालकलाई अपहरण गरी बन्धक बनाइएको अवस्थामा प्रहरीले उद्धार गरेको छ। घटनाबारे सुचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले तत्काल उद्धार गर्दै तीन जना अभियुक्तलाई पक्राउ गरेको हो।
उद्धार गरिएका बालकलाई सकुशल परिवारको जिम्मा लगाइएको छ भने अपहरणमा संलग्न भनिएका तीन व्यक्तिहरूलाई हातहतियार सहित पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ६८ वर्षीय रामजी साह, १९ वर्षीय बिक्रम पासवान, र २७ वर्षीय प्रवचन साह रहेका छन्।
घटनास्थलबाट कटुवा पेस्तोल १ थान, गोली २ राउन्ड, धारिलो चक्कु १ थान, हथौडा १ थान, मोबाइल १ थान, र BR06BT2850 नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अभियुक्तहरूमाथि अपहरण, शरीर बन्धक, तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाको पछाडि आपराधिक गिरोहको संलग्नता हुन सक्ने भन्दै अनुसन्धानलाई थप गहन बनाइएको समेत प्रहरी जानकारी दिएको छ।