शीरमा देश र मनमा मधेश राखेर कार्य थालनी गर्दैछु ः प्रदेश प्रमुख झा

९ फाल्गुन  / आईतवार
प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा (अहिराज) ले शीरमा देश र मनमा मधेश राखेर आजबाट जन्मभूमिमा प्रदेश नम्बर २ को प्रदेश प्रमुखको रुपमा कार्य थालनी गरेको बताएका छन् । आज पदभार ग्रहण गर्दै प्रदेश प्रमुख झाले देश, जनता र संविधानलाई पहिलो र महत्वपूर्ण आधार बनाएर प्रदेश नम्बर २ भित्रका प्रत्येक नागरिकलाई साझा, शान्त, समृद्ध र समभावसहितको समाज निर्माणमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने,‘जात, जन्म, स्थान वा घनत्वको आधारमा दम्भ वा भय निर्माण भइरहँदा समाज अशान्त र नागरिक असुरक्षित हुनसक्छ । प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माणमा मेरो भूमिका कायम रहनेछ ।’ उनले प्रदेश नम्बर २ भित्र रहेका विविधता, संस्कृतिको रक्षा, पहिचानको सम्मान, सद्भाव, विश्वास, देशप्रेम, भाइचारा र नागरिकमैत्री सरकार निर्माण गर्दै जानुपर्ने आवश्यकता रहेको बताए । देशहित र अब्बल प्रदेश निर्माण गर्न सुशासन, साझापन, सवलीकरण र सहकार्यको विकल्प नरहेकोले कतिपय पक्षमा तत्काल सुधारको खाँचो रहेको उनको भनाई छ । उनले भने,‘देशभक्ति, आतिथ्य सत्कार र समृद्ध सांस्कृतिक इतिहास बोकेको प्रदेश नम्बर २ मा काम गर्ने सौभाग्य पाएको छु । विविधतालाई अवसरको रुपमा लिने, अनुशासन, इमान्दारिता र माटोप्रति प्रेम कायम राख्दै प्रदेश नम्बर २ लाई सकारात्मक रुपमा उदाहरणीय बनाउने कार्यमा बल पुर्याउने छु । आन्तरिक विभेद, असुरक्षा, कुनैपनि खाले दम्भ, अहंकार, दमन र अपराधलाई हामी सबै मिलेर समाधान गर्दै जानुपर्छ ।’ युवामुक्त समाज, बालीमुक्त, कुषि, भययुक्त भविष्य, सम्मानमुक्त जीवनले दीर्घकालीन पीडा दिन्छ । समभावमा आधारित समाज, देशप्रेमसहितको सोंच, सवल नागरिक र गौरवान्वित भविष्यसहितको प्रदेश निर्माणमा मेरो भूमिका रहनेछ,‘उनले भने । प्रदेश प्रमुख झाले भने,‘सामाजिक विभेद अन्त्य गरी राष्ट्रिय एकतामा निरन्तर बल पुर्याउन सक्नुपर्छ । प्रदेशभित्र प्रत्येक नागरिकले पूर्ण सुरक्षाको अनुभूति गर्न पाउनुपर्छ । प्रत्येकको भूमि, भावना र भविष्यको सुनिश्चितता प्रदान गर्न हामी सबैले बल पुर्याउनुपर्छ । प्रदेश नम्बर २ मा सुशासन, सद्भाव, समभाव र समृद्धि कायम गर्न÷गराउन मेरो पूर्ण सहकार्य रहनेछ ।’ पदभार ग्रहण गर्नुअघि प्रदेश प्रमुख झाले जानकी मन्दिरमा पूजापाठ गरेका थिए । कार्यालय पुग्दा उनलाई नेपाली सेनाको एक टुकडीले सलामी समेत अर्पण गरेको थियो ।