लखन्देहीले बगाउँदा एकको मृत्यु, एकको उद्धार

लखन्देही खोलामा आएको बाढीले बगाउँदा एक वृद्धको मृत्यु भएको छ । हेमपुरबाट टिकुलियातर्फ जाँदै गरेका कविलासी नगरपालिका–४ हेमपुर निवासी ७० वर्षीय सियाराम रायलाई लखन्देही खोलाले बगाउदा मृत्यू भएको हो । बरहथवा नपा–१७ श्रीपुर गाउँ भन्दा पश्चिम लखन्देही खोला तर्न खोज्दा मंगलबार साँझ ती वृद्धलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै लखन्देही खोलामा आएको बाढीमा फसेका घुर्कौलीका एक किसानको मंगलवार बेलुका सकुशल उद्धार गरिएको छ । लालबन्दी नगरपालिकाको जुटपानी क्षेत्रमा रहेको खेतमा काम गर्न आउँदा हरिवन नगरपालिकाको घुर्कौली निवासी अन्दाजी ५० वर्षीय सिकिन्द्र महतो बाढीमा फसेका थिए । बेलुका अबेर खेतमा काम गरेर फर्किदा बीच खोलामा पुगेपछि अगाडि–पछाडि दुवैतर्फ ठूलो बाढी आएर बीचमै फसेका महतोलाई ईलाका प्रहरी कार्यालय नवलपुरबाट पुगेका प्रहरीले सकुशल उद्धार गरी घर पठाएका हुन् ।
बेलुका ७ बजेतिर खोलामा मानिस फसेको जानकारी पाउनासाथ हरिवनबाट सशस्त्र प्रहरीको टोली र रणशेर गण पाँचकुमारी ब्यारेकबाट नेपाली सेनाको टोली समेत घटनास्थलमा पुगेको थियो । लखन्देही खोलामा पूर्व–पश्चिम राजमार्ग बाहेक दक्षिणतर्फ पुल नहुँदा स्थानीयहरु बाढीमै हेलिएरै जोखिमपूर्ण किसिमले वारपार गर्न बाध्य भइरहेका छन् ।
चुरे भेगमा केही दिनदेखि भइरहेको वर्षाले बाग्मती, लखन्देही, कालिन्जोर, फूलजोर, बाँके जस्ता खोलाहरुमा कुनै पनि बेला आकस्मिक बाढी आउन सक्ने हुँदा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।