सर्लाहीका सरकारी कार्यालयहरु आजबाट खुल्दै

सर्लाही – झण्डै एक महिना बन्द भएका सर्लाहीका सरकारी कार्यालयहरुले मंगलवारबाट खुलेकोछ । कोरोना संक्रमण समुदाय स्तरमै पाइएपछि जिल्लामा साउन २६ गतेदेखि निषेधाज्ञा लगाइएसँगै सरकारी कार्यालयका अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरिएका थिए । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार निषेधाज्ञा हटाइएसँगै आजबाट सरकारी कार्यालयहरु खुल्न लागेका हुन् ।
सरकारी कार्यालयमध्ये जिल्ला प्रशासन, ईलाका प्रशासन, मालपोत र नापी कार्यालयले एक दिन एउटा पालिका र अर्को दिन अर्को पालिका अर्थात गाउँपालिका र नगरपालिका छुट्याएर पालैपालो सेवा दिने छन् । त्यसका लागि अहिले ती कार्यालयहरुले सूचना निकालेर पालिका र बार तोकिरहेका छन् ।
सदरमुकाम मलंगवास्थित जिल्ला मालपोत कार्यालयका केही कर्मचारीलाई कोरोना संक्रमण देखिएकाले सीमित कर्मचारी राखेर सेवा दिन लागिएको कार्यालय प्रमुख गोपाल प्रसाद बरालले बताए ।