नयाँ डिएसपी आएसँगै दुई दिनमा १३ हजार लिटर बढी घरेलु मदिरा नष्ट

२०७७ भद्रौ २३ बरहथवा / प्रहरीले सर्लाहीको दक्षिण–पश्चिम भेगका विभिन्न गाउँमा दुई दिनमै साँढे १३ हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
एकान्त ठाउँमा लुकिछिपी सञ्चालित भट्टी पसलबाट सो परिमाणमा घरेलु मदिरा बरामद गरी नष्ट गरिएको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक (डीएसपी) उद्धव सिंह भाटले जानकारी दिए । आईतबार बसबरिया गाउँपालिकाको मानपुरबाट मात्र १० हजार लिटर भन्दा बढी मदिरा नष्ट पारिएको प्रनाउ भाटले बताए । प्रनाउ भाटका अनुसार भारतसम्म सप्लाई गर्नेगरी ठूलै परिमाणमा घरेलु मदिरा बनाईने गरेको फेला परेको हो ।
सोमबार गोडैता नगरपालिकाको रामवन र बरहथवा नगरपालिकाको टाँडी लगायत क्षेत्रबाट एकहजार ३८० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरिएको प्रनाउ भाटले जानकारी दिए । उनका अनुसार अवैध घरेलु मदिरा उत्पादन गर्ने आधा दर्जन भट्टी पसल भत्काइएको छ । त्यस्तै बरहथवा नपा–८ टाँडीका कैलाश साहको ठुलो ड्रम ८ वटा ,ग्यालिन् २१ वटा तथा गोडैता नपा–५ रामवन निवासी अरबिन्द्र साहको ठुलो ड्रम ५ वटा र ८ वटा सानो ग्यालिन् समेत बरामद् गरी ईलाका प्रहरी कार्यालय बरहथवामा ल्याएको छ । डीएसपी भाट एकसाता अघि ईलाका प्रहरी कार्यालय बरहथवाको प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्न आएका हुन् ।
समय/समयमा प्रहरीले घरेलु मदिरा उत्पादन गर्ने भट्टीहरु भत्काउने गरेपनि, उत्पादन भने रोकिएको छैन् । भारतको बिहारमा मदिरा बिक्री वितरणमा प्रतिवन्ध लागेसँगै सर्लाहीको सीमावर्ती गाउँहरुमा मदिरा पसल खुल्ने क्रम तीव्र रुपमा बढेको छ । मदिरा पिउन भारतीयहरु लुकिछिपी सीमावर्ती गाउँहरुमा आउने गरेका स्थानीयहरु बताउँछन् ।

सांभार उज्याालो अभियान