सर्लाहीमा निषेधाज्ञा हटाइयो

मलंगवा /सर्लाहीमा आजबाट निषेधाज्ञा हटाइएको छ । जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सोमवारबाट निषेधाज्ञा हटाउने निर्णय गरेको हो । निषेधाज्ञा हटाइए पनि यातायातका साधन भने तत्काल सञ्चालन नहुने भएको समेत निर्णयमा भनिएको छ ।
तत्काल यातायातका साधन बन्द नै रहने सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउदै सोमवारबाट भने सार्वजनिक, सामुदायिक तथा निजी क्षेत्रबाट सेवा प्रवाह गर्ने कार्यालय, संस्था र निकाय खोल्ने निर्णय भएको जानकारी समेत गराए । सरकारी कार्यालयहरु भने मंगलवारबाट मात्रै पालिका अनुसार आलोपालो गरी सेवा प्रवाह गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

 

सेवाग्राहीको धेरै भीडभाड हुने जिल्ला प्रशासन, ईलाका प्रशासन, नापी र मालपोत कार्यालयले सूचना निकालेर पालिका अनुसार बार तोकेर सेवा प्रवाह गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । निरन्तर कार्यालयहरु बन्द रहदाँ जनजीवन नै प्रभावित भएपछि यो निर्णयमा पुगिएको प्रजिअ पौडेलको भनाई छ । सर्लाहीमा बैङ्क र वित्तीय संस्थाहरु भने अघिल्लो साताबाटै खुलिसकेका छन् । समुदाय स्तरमा कोरोनाको सङ्क्रमण पाइएपछि सर्लाहीमा गत साउन २६ गतेदेखि निषेधाज्ञा जारी गरीएको थियो ।