सर्लाहीमा मोटरसाइकलको ठक्करबाट २ जनाको मृत्यु

१८ साउन / सर्लाही
सर्लाहीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेश २–०३–००३ प ६६८९ नम्बरको मोटरसाइकल चालक लालबन्दी–५ बस्ने ५० वर्षीय व्रह्मदेव चौधरी र ज. १ म. २३३ नम्बरको मोटरसाइकल चालक रौतहटको ईशनाथ नगरपालिका ७ बस्ने ५५ वर्षीय नन्द किशोर साह रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले बताए । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१७ मा प्रदेश नम्बर २–०३–००३ प ६६८९ नम्बरको मोटरसाइकल र ज. १ म. २३३ नम्बरको मोटरसाइकल शनिबार राति आपसमा ठोक्किएका थिए । दुर्घटनामा घाइते भएका दुवैलाई उपचारका लागि अस्पताल लग्दै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ज. १ म. २३३ नम्बरको मोटरसाइकलको पछाडि सवार श्याम साह घाइते भएका छन् । टाउकोमा चोट लागेका उनको धनुषाको महेन्द्रनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।