रौतहटको श्रीराम सुगर मिल बन्द, किसान चिन्तित

१६ साउन / रौतहट
रौतहट जिल्लाकोे गरुडा नगरपालिका– ५ मा रहेको उद्योग श्रीराम सुगर मिल्स बन्द भएको सूचनाले किसान चिन्तित बनेका छन् । साउन ११ गते उद्योग सञ्चालक समितिले एक सूचना जारी गर्दै महम्मदपुर गरुडामा रहेको सो चिनी मिल बाध्यात्मक परिस्थितिका कारण स्थायी रुपमा बन्द भएको घोषणा गरेको थियो । उद्योग बन्द हुँदा जिल्लामा रहेका १८ हजार उखु किसानले १२ हजार बिघामा गरेको खेती अब के हुने हो भन्ने अन्योल बढेको छ । उद्योग व्यवस्थापनले किसान, श्रमिक तथा सरोकारवालासँग छलफल नै नगरी मिल बन्द गरेको भन्दै उखु उत्पादक संघ रौतहटले आपत्ति जनाएको छ । एकतर्फी ढंगले गरिएको उद्योग बन्दप्रति सरकारले पनि चासो देखाउनुपर्ने संघको भनाइ छ । सो चिनी मिलमा बारा र सर्लाहीका किसानले समेत उखु बेच्ने गरेका थिए । गरुडा २ का फेकन सहनी ४ बिघामा उखु खेती गरेका पनि चिनी मिलबाट २ लाख रुपैयाँ भन्दा बढी लिन बाँकी छ । चिनी मिल बन्द हुन नदिन र किसानको रकम भुक्तानी गराइदिन सरकारले पहल गर्नुपर्ने किसानको भनाइ छ । स्थापनाकालको ६ वर्षसम्म मुनाफामा चलेको उद्योग त्यसपछि निरन्तर ओरालो लागिरहयो । हरेक वर्ष व्यवस्थापन परिवर्तनका कारण यसको घाटा बढ्न थालेको थियो । आर्थिक वर्ष ०७५र७६ सम्ममा मिलको कुल घाटा २ अर्ब १७ करोड ७५ लाख ५८ हजार ३७६ रुपैयाँ छ । श्रीराम सुगर मिल्स करिब ७४ बिघा क्षेत्रफलमा रहेको छ । उद्योग स्थापनाका बेला निकै सस्तोमा खरिद भएको जग्गाको मूल्य अहिले आकाशिएको छ । व्यवस्थापनले मिलको जग्गा बेचेर अर्बौ रुपैयाँ निकाल्ने र रकमलाई अन्यत्र व्यापारमा प्रयोग गर्ने बदनियत रहेको गरुडाका उद्योगी बृजकिशोर यादवले बताए । ‘आज भन्दा चार वर्ष अघि १३० करोड रुपैयाँ किसानको मात्रै बाँकी थियो । तर त्यो बेला मिल बन्द भएन’ गरुडाका यादव भन्छन ‘आज ३२ करोड मात्रै बाँकी छ । मिलले राखेको नयाँ पार्टनरले मिलको जग्गामा आँखा गाडेको छ ।’ उद्योगको ७४ बिघामध्ये १० बिघा जग्गा मुख्य बजार र सडकसँग जोडिएको छ जसको चलनचल्तीको मूल्य १ बिघाकै २० करोड भन्दा बढी छ । ‘मिल व्यवस्थापन आफैले १२५ करोड रुपैयाँ नभएसम्म उद्योग चल्न सक्दैन भनेको छ’ यादवले भने, ‘मुख्य सडकको जग्गा बेचेर रकम आएपछि १२५ करोड रुपैयाँ तिरेर फेरि उद्योग चलाउछ भन्ने ग्यारेन्टी र पहल सरकारले गर्नुपर्ने संघका अध्यक्ष अशोकप्रसाद यादवले बताए ।