वीरगञ्जमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

१६ साउन / शुक्रबार
कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज–११ श्रीपुर बस्ने भारत घर भएका उनको गएराति निधन भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय पुरुषको मृत्यु भएको हो । ‘मुटुको रोगी हुनुहुन्थ्यो, कोभिड लागेपछि अवस्था गम्भिर नै थियो,’ डा. उपाध्यायले भने, ‘आईसीयु र भेन्टिलेटरमा समेत राखेर उपचार ग¥यौं तर बचाउन सकिएन ।’ मुटुको बाइपास सर्जरी गरेका उनलाई साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते दिउँसो साढे १ बजे वीरगञ्जस्थित अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो । बिहीबार मात्रै पर्सामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको थियो । योसँगै पर्सामा साउन महिनामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । यसअघि बाराका २, रौतहटका १ र १ जना बेवारिसे शवमा कोरोना संक्रमण पुष्टि भएको थियो ।