कोरोना भाइरसका कारण प्रदेश २ मा फेरि लकडाउनको माग

१५ साउन / विहीबार
प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । अहिलेसम्म प्रदेशमा ३६१ महिलासहित ४ हजार ५ सय ४४ जना संक्रमित भेटिएका छन् । संक्रमितमध्ये १२ जनाको मृत्युसमेत भएको छ । पहिला बिना लक्षणका संक्रमित देखिए पनि अहिले प्रदेशमा कोरोनाको लक्षणसहितका संक्रमितहरु देखिन थालेका छन् । लक्षणसहितको संक्रमण एकाएक बढ्न थालेको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमणको जोखिम बढ्न थालेपछि फेरि लकडाउनमा जानुपर्ने स्थिति आउन लागेको विज्ञले सुझाएका छन् । यसअघि ‘इम्यूनिटी पावर’ राम्रो रहेकाले किशोर तथा युवा उमेरका व्यक्ति संक्रमित नहुने चर्चा भए पनि अहिले जुनसुकै उमेरसमूहका व्यक्ति संक्रमित हुन थालेका छन् । स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झा जुनसुकै उमेर समूहमा लक्षणसहितको संक्रमण देखिन थालेको बताउँछन् । धनुषाको शहीद नगरपालिका वडा नम्बर ८, डुमरियाका ३८ वर्षीय पुरुषको कोरोना संक्रमित भएर मृत्यु भएको घटनाले यहाँ जुनसुकै उमेर समूहका व्यक्ति कोरोना संक्रमित भइरहेको देखाउँछ । ती पुरुषमा अधिक कोरोना भाइरसको मात्रा देखिएको थियो । प्रदेश सरकारले कोरोना भाइरस सम्बन्धी सुझाव दिन बनाएको विज्ञ समूहका चिकित्सक डा. रामकेवल साह पनि प्रदेशमा देखिएका संक्रमितमध्ये १५ देखि २० प्रतिशतमा लक्षण देखिन थालेको बताउँछन् ।