भारी वर्षाका कारण प्रदेश १ र २ मा डुवानप्रति सतर्क रहन सुरक्षाकर्मीलाई निर्देशन

भारी वर्षाका शुरु भएका कारण बाढी र ढुवान हुन सक्ने भन्दै प्रदेश १ र प्रदेश २ सरकारले सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न निर्देशन दिएका छन् । आजको आयोजित विपद व्यवस्थापन समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाढीको जोखिम न्युनीकरण गर्नका लागि उच्च सतर्कतासाथ बस्न नेपाल तथा सशस्त्र प्रहरी र नेपाली सेनालाई निर्देशन दिएका छन् । उनले प्रदेशको आठवटै जिल्ला बाढीको उच्च जोखिममा रहेको भन्दै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । बैठकमा जोखिम न्यूनिकरणको लागि आन्तरिक मामिला तथा कानून मन्त्रालय र सुरक्षा निकायहरुले गरेको तयारीबारे मुख्यमन्त्री राउतलाई जानकारी गराइएको थियो । प्रदेश १ मा सम्भावित जोखिम न्युनीकरणका लागि पूर्वतयारी अपनाउन जिल्लास्थित विपद व्यावस्थापन समितिलाई निर्देशन दिएको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताए । नदी किनारका बस्तीमा हुनसक्ने क्षति प्रति सजग हुन र आवश्यक पूर्वतयारी गर्न पनि निर्देशन दिएको उनले बताए । स्थानीय स्तरमा जोखिमको पूर्वतयारी र सचेतनाका स्थानीय तहहरु सक्रिय हुनुपर्ने उनले बताए ।