लकडाउनविरुद्ध प्रदर्शनमा निस्किएका सयौँ ट्याक्सी नियन्त्रणमा

१६ असार / काठमाडौं
लकडाउनका कारण ट्याक्सी चालकहरु भोकभोकै रहेको अवस्था आएको भन्दै प्रदर्शनमा निस्किएका ट्याक्सी ठाउँठाउँमा नियन्त्रणमा परेका छन् । सो विरुद्धमा महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले हालसम्म ३ सय ८ वटा ट्याक्सीलाई नियन्त्रणमा लिइएको अनलाइनखबरलाई बताए । उनले भने, ‘हामीले प्रदर्शनभन्दा पनि नियमलाई हेर्ने हो । सार्वजनिक सवारीसाधन चलाउन पाइँदैन, त्यसैले होल्ड गरिएको हो ।’ साँझ ती ट्याक्सीहरुलाई छाडिने उनले बताए । ट्याक्सी व्यवसायी दिपक केसीले भने प्रदर्शनमा निस्किएका ट्याक्सीलाई नियन्त्रणमा लिएर प्रहरीले दमन गरेको बताए । उनले प्रश्न गरे, ‘निजी सवारीसाधन र एम्बुलेन्समा भाडा लिएर मान्छे चढाउन हुने, हामीले आफ्नो माग पनि राख्न नपाउने ?’ लकडाउनका कारण लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि व्यवसायीहरु मंगलबारबाट आन्दोलनमा उत्रिएका छन् ।