नेपाल–भारत सीमा स्थित विष्णुगाउँपालिकामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप, एक राउण्ड हवाई फायर

अनिता साह
१८ जेठ / सर्लाही
कोरोना भाइरस (कोभिड १९) को महामारी रोक्न सरकारले गरेको लकडाउनको समयमा सर्लाहीको विष्णु गाउँपालिका–२, पकडीमा आज बिहान सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ ।

अवैध रुपमा सीमा प्रवेश गर्न खोजेका भारतीय नागरिकहरुलाई सशस्त्र प्रहरीले रोकेपछि झडप भएको हो । झडपको क्रममा प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको छ ।
केही भारतीय नागरिकले अवैध रुपले जवरजस्ती समान छिराउन खोज्दा नेपाली सुरक्षाकर्मीले रोकेपछि झडप भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले जानकारी दिए ।

आफूहरुमाथि दुव्र्यहार गरेको भन्दै व्यापारीहरुले भारततर्फका ३०÷३५ जना गाउँले उठाएर सीमामा ल्याई सशस्त्र प्रहरीमाथि नै आक्रमण सुरु गरे । भारतीयहरुले हुल बाँधेर सीमामा आएका थिए । भारतीयहरुले ढुङ्गामुढा गरी यस्ता हतियार हामीसँग पनि छन् भन्दै गस्ती गरिरहेका ६ जना सशस्त्र प्रहरीको हतियार खोस्ने प्रयास गरेका जीसीले बताउनुभयो ।

हतियार खोस्ने प्रयास गरेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरी स्थिति नियन्त्रणमा लिएको थिए । विष्णु गाउँपालिकाका स्थानीय खुला सीमा हुँदै किनमेलका लागि भारततर्फ जाने र भारतीयहरु पनि व्यापार व्यवसाय गर्न नेपालतर्फ आउने गर्छन् ।

कोरोना भाइरसको रोकथाम गर्न गरिएको लकडाउनपछि भने सीमामा आवतजावत ठप्प छ । तर पनि लुकिछिपी तस्करहरुले खोला खोल्सी एवं खेतबारी हुँदै सामान ओसारपसार गरिरहेका स्थानीय वासिन्दाहरुले बताए् ।