धनुषामा सुत्केरी र गर्भवती महिलाले राहतमा पोसिलो खानेकुरा पाए

११ जेठ / धनुषा
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को महामारी नियन्त्रण गर्न सरकारले गरेको लकडाउनको चपेटमा परेको धनुषाको कमला नगरपालिका–५ भलुवाहीका सुत्केरी र गर्भवती महिलाले राहतमा पोसिलो खानेकुरा पाएका छन् । लकडाउनको समयमा गर्भवती र सुत्केरी जोखिममा रहेको समाचार सार्वजनिक भएपछि उनीहरुले राहतमा पोसिलो खानेकुरा पाएका हुन् । पोसिलो खानेकुरा पाएपछि अब नवजात शिशुलाई खुवाउने दूध आउने स्थानीय मनिषादेवी सदाले बताइन् । लकडाउनपछि चैत दोस्रो साता सुत्केरी भएकी उनले आफूले पोसिलो खाना नपाउँदा बच्चा रोइरहँदा पनि दूध खुवाउन नसकेको बताएकी थिइन् ।सोही ठाउँकी अर्की सुत्केरी मन्तोरियादेवी सदाले बच्चा रुँदा ट्युबेलको पानी खुवाएको स्मरण गरिन् । ‘जतिखेर बच्चा रुन्थ्यो, त्यत्ति बेला पानी चम्चामा हालेर खुवाएकी छु’ उनले भनिन् । अनुसन्धानमा आधारित अभियानी संस्था भोरको पहलमा कुपोषणको जोखिममा रहेकी यहाँका २३ जना सुत्केरी र गर्भवतीलाई पोषणयुक्त खानेकुरा राहतमा प्रदान गरिएको छ । बेसिक हेल्प फर नेपालको सहयोगमा उनीहरुलाई घरेलु चामल, दाल, तेल, नुन, अण्डा, ज्वानो, तरकारी तथा फलफुल वितरण गरिएको छ । रुविता सदाले शुरुमा स्वाथ्य चौकीमा जचाउँन जाँदा अण्डा, फलफुल खान स्वास्थ्यकर्मीले सल्लाह दिएपनि भात पनि राम्रोसँग खान नपाएको सुनाइन् । भोरका संस्थापक अध्यक्ष राजकुमार महतोले प्रदेश २ मा कुपोषणको जोखिम रहेको समाचार बाहिरिएसँगै यस्ता सुत्केरी र गर्भवतीलाई पोषिलो खानेकुरा जुटाइएको बताए । कमला नगरपालिका ५ भलुवाहीकै घोघी, सितुवा मारेर दैनिक गुजारा गरिरहेका ५२ परिवारलाई समेत १५ किलो चामल, १ किलो दाल, १ किलो नून, १ लिटर खाने तेल सहित तरकारी र तरबुज वितरण गरिएको महतोले बताए ।