भारतमा कोरोना भाइरसबाट संक्रमित संख्या १ लाख १८ हजार नाघ्यो, ३५ सय भन्दा बढीको मृत्यु

९ जेठ / काठमाडौं
कोरोना भाइरस (कोभिड–१९) बाट भारतमा संक्रमित हुनेको संख्या १ लाख १८ हजार भन्दा बढी रहेका छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार, भारतमा १ लाख १८ हजार ४ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ३ हजार ५ सय ८३ पुगेको छ । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४१ हजार ६४२ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार ४५४ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

त्यस्तै तमिलनाडुमा अहिलेसम्म १३ हजार ९६७ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा ९४ जनाको मृत्यु भएको छ । गुजरातमा अहिलेसम्म १२ हजार ९०५ संक्रमित पुगेका छ भने मृत्यु हुनेको संख्या पनि ७७३ पुगेको छ । मध्य प्रदेशमा संक्रमितको संख्या पाँच हजार ९८१ संक्रमित फेला परेको छ भने २७० जनाको मृत्यु भइसकेको छ ।

भारतको पश्चिम बंगालमा तीन हजार १९७ संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या २५९ पुगेको छ । उत्तर प्रदेशमा पनि संक्रमित संख्या पाँच हजार ५१५ पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट १३८ जनाको मृत्यु भएको छ । बिहारमा एक हजार ९८२ संक्रमित पुग्दा ११ जनाको मृत्यु भइसकेको छ । भारतमा अहिलेसम्म ४८ हजार पाँच सय ३४ संक्रमित निको भएर घर फर्किएका छन् ।