पूर्वमन्त्री आफताब आलमको घरमा छापा,अवरोधपछि प्रहरीद्धारा हवाई फायर

९ जेठ / रौतहट
राजपुर बमकाण्डका अभियुक्त पूर्वमन्त्री आफताब आलमको घरमा गए राति प्रहरीले खानतलासी गरेको छ । सोही बमकाण्डका फरार अभियुक्त महताब आलमलाई पक्राउ गर्न प्रहरीले बिहीबार मध्यरातिमा राजपुरमा रहेको आफताब आलमको घरमा पुगेको थियो ।

महताब अफताब आलमका भाइ हुन् ।‘बमकाण्डका फरार अभियुक्त महताब आलम घरमा रहेको गोप्य सूचना हामीलाई प्राप्त भएको थियो’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक रविराज खड्काले भने ‘निजलाई पक्राउ गर्न प्रहरी टोली आफताब आलमको घरमा गएको थियो ।’

खानतलासीका क्रममा परिवारजन र स्थानीयले प्रहरीलाई अवरोध गरेपछि प्रहरीले हवाई फायर समेत गरेको उनले बताए । अभियुक्त पक्राउ गर्न गएको प्रहरीमाथि हातपात हुन खोजेपछि १२ राउण्ड गोली हवाई फायर गरेको प्रहरी उपरीक्षक खड्काले बताए ।

‘हामीले खोजेको व्यक्ति महताब आलम फेला परेनन्’ उनले भने ‘फरार रहेका सबैको खोजी कार्य जारी छ ।’ राजपुर बमकाण्ड घटनाका आरोपी मोहम्मद महताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजले हक, सगिर आलम, शेख मलकार, बद्री सहनी, मुक्ति साहलयायतका व्यक्ति प्रहरीको फरार सूचीमा छन् ।

मध्यरातमा प्रहरीले गरेको खानतलासीको स्थानीयले विरोध गरेका छन् ।