हास्यकलाकार मनोज गजुरेललाई मन पर्ने आफ्नै ६ ‘क्यारिकेचर’

हास्य कलाकार मनोज गजुरेलले सयौं ‘क्यारिकेचर’ गरिसकेका छन् । ‘व्यंग्यको नाममा ठाडो गाली गर्ने गरिन्छ,’ कलाकार गजुरेलको भनाइ छ, ‘मैले कहिल्यै गाली गरिनँ । व्यंग्य गरिरहेको पात्र भोलि भेट्दा ला… मलाई के पो भन्ने हुन् कि भनेर मुख छोप्न नपरोस् । टेबल टक गर्दा त्यो हैसियतसहित व्यंग्य गर्नुपर्छ ।’

‘क्यारिकेचर’ मार्फत देशमात्रै होइन, नेपाली कला क्षेत्रको नाम राख्न सकुँ भन्ने हास्यकलाकार मनोज गजुरेललाई मन पर्ने यस्ता छन् उनकै ६ ‘क्यारिकेचर’ ।

पूर्वराजा ज्ञानेन्द्रको ‘क्यारिकेचर’
पूर्वराजा ज्ञानेन्द्र शाहको ‘क्यारिकेचर’ कलाकारितामात्रै नभएर तात्कालिक अवस्थाको सांस्कृतिक आन्दोलन थियो । नेपाली गणतन्त्रको अभियानमा लागेका थिए । त्यतिबेला व्यंग्यका रूपमा राजा महाराजालाई कर्केनजरसमेत लगाउन हुँदैन भन्ने अवधारणा थियो । अधिकांशलाई त्यस्तो डर थियो । त्यतिबेला म राजा ज्ञानेन्द्र भएर सडकमा उत्रँदा राजतन्त्र गएको थिएन । खतरा त्यत्तिकै थियो । जुनसुकै बेला जे पनि हुन सक्थ्यो ।

सिद्धान्त क्रान्तिकारी भए पनि कुटाइ खाँदा ढाड नै दुख्छ । त्यो थाहा हुँदाहुँदै पनि पूर्वराजा ज्ञानेन्द्रको ‘क्यारिकेचर’ गरें । त्यो ‘क्यारिकेचर’ अविस्मरणीय र स्मरणीय लाग्छ । पूर्वराजाको ‘क्यारिकेचर’ गर्दा ठूलो कुरा गरेको छैन । केही सिर्जनासमेत गर्न परेन । ज्ञानेन्द्र बन्न मेरो शरीरले साथ दिएको थियो । त्यतिबेला सुरक्षाकर्मीले पनि सहयोग गरे । राजाको ह्याट, कम्ब्याट ड्रेस र बुट दिए । विषयवस्तुसमेत नयाँ खोज्न परेन । पूर्वराजा ज्ञानेन्द्रले गाउँघर डुल्दा जे–जे भनेका थिए, त्यतिमात्रै भन्दा पनि सुन्नेले हाँसिहाल्थे ।
गणतन्त्रको पक्षमा अन्तर्राष्ट्रिय माहोल सिर्जना गर्न त्यो क्यारिकेचरले सघाएकाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा राम्रै ठाउँ पाएको थियो ।

प्रचण्डको ‘क्यारिकेचर’ 
नेकपा अध्यक्ष प्रचण्डको कान्तिपुर टेलिभिजनले अन्तर्वार्ता लिएको थियो । लगत्तै गाईजात्रा लाग्यो । प्रचण्ड कस्ता छन् भनेर कान्तिपुर टीभीको अन्तर्वार्तामा देखेकोबाहेक केही थाहा थिएन । त्यस्तो अवस्थामा मैले गरेको ‘क्यारिकेचर’ को ठूलो महत्व रह्यो ।

प्रचण्ड खुला हुनासाथ मैले उहाँको ‘क्यारिकेचर’ गरें । प्रचण्डलाई २०७५ सालको प्रधानमन्त्री बनाएर नेपाल टेलिभिजनको १ सय २० तले भवनमा अन्तर्वार्ता लिएको थिएँ । अन्तर्वार्तामा मेचीदेखि महाकालीसम्म रेल गुडाएको, ल्यासादेखि काठमाडौं हुँदै लुम्बिनीसम्म ट्रेन गुडाएको, सप्तकोसीमा पानीजहाज ल्याएको प्रसंग जोडें । नेपालका डाँडाकाँडामा पाँचौं लाख विदेशीलाई काम दिएकोलगायतको कल्पना गरेर अन्तर्वार्ता गरियो । त्यो ‘क्यारिकेचर’ पनि अविस्मरणी र स्मरणीय लाग्छ ।

त्यसअघि काठमाडौंको खुलामञ्च र गाईजात्रामा प्रचण्डको व्यंग्य गरेको थिएँ । तर, खुला समाजमा आएपछि उहाँले देखाउनुभएको सपनालाई आधार बनाएर अन्तर्वार्ता गरें । उहाँको ‘क्यारिकेचर’ गर्दा सकारात्मक हास्यव्यंग्य पनि गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न खोजेको थिएँ ।

संघीयतासम्बन्धी ‘क्यारिकेचर’ 
‘क्यारिकेचर’ ‘गेटअप’सहितको मात्रै हुँदैन । आवाजको मात्रै पनि हुन्छ । नेपालीले संघीयता चाहेका थिए । संघीयताका नाममा गलत प्रचार भइरहेको थियो । तर, जनतालाई सुझाउनुपर्ने अवस्था थियो ।
संघीयता कसैका लागि स्वार्थ होला ।

हाम्रा लागि सबै जातजाति, भाषाभाषी, संस्कृति फुल्ने माध्यम बनाउन खोजिएको थियो । त्यसलाई दृष्टिगत गर्दै तात्कालिक संविधानसभामा विभिन्न भाषा बोल्ने तात्कालिक सभासद्को ‘क्यारिकेचर’ गरेको थिएँ । १० मिनेटको त्यो ‘क्यारिकेचर’ त्यत्तिकै प्रभावकारी बन्यो । तात्कालिक संविधानसभामा पूर्वसभामुख सुवास नेम्वाङले लिम्बू भाषा, नेवार, तामाङ, थारू, मैथिलीलगायत अन्य भाषा बोल्ने सभासद्को ‘क्यारिकेचर’ गरेको थिएँ । त्यो ‘क्यारिकेचर’ ले दुई सन्देश प्रवाह गरेको थियो । पहिलो– मातृत्व, मातृभूमि र मातृभाषा जब बिर्सन्छ तपाईंको नानी, सम्झनुहोस् तपाईंको सारा लगानी, भयो बालुवामा पानी । दोस्रो– संगी यता होस्, संगी उता होस्, संगी जता होस्, संगी तता होस्, तर देश नटुटोस्, जनताको एकता नफुटोस् ।

लालबावु पण्डितको ‘क्यारिकेचर’
मन्त्री लालबावु पण्डित अघिल्लो मन्त्रिपरिषद्मा हुँदा कर्मचारी प्रशासन क्षेत्रमा लोकप्रियता आर्जन गर्नुभयो । डीभी र पीआर लिएर जागिर खानेलाई नियमभित्र बाँध्नुभयो । आमनेपालीको चाहना त्यस्तै थियो । त्यसलाई सम्मान गर्नुपर्छ भनेर लालबावु पण्डितको ‘क्यारिकेचर’ गरें । पण्डित स्वयम्ले हेर्नुभयो । हास्यव्यंग्य गालीमात्रै होइन, हौसला, ऊर्जा र सकारात्मक सन्देश प्रवाह गर्ने पनि हुनुपर्छ । त्यस अर्थमा मैले लालबावु पण्डितको ‘क्यारिकेचर’ गरेको थिएँ ।

अमिताभ बच्चनको ‘क्यारिकेचर’ 
गौतम बुद्धको जन्म भारतमा भएको हो भनेर हौवा फैलाइएको थियो । त्यसो भन्दा नेपालीलाई तोड पर्ने नै भयो । मलाई पनि पर्यो । क्यारिकेचनरमातर्फत मैले उद्घोष गरें, ‘गौतम बुद्धको जन्म भारतमा हुन्छ भने हामी पनि भन्छौं– अमिताभ बच्चनको जन्म जोमसोममा भएको हो । जोमसोमका गौचन, लालचन, शेरचन र भट्टचनपछि अमिताभ बच्चन, बच्चन, बच्चन ।’

नरेन्द्र मोदीको ‘क्यारिकेचर’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘क्यारिकेचर’ लाई भारतीय, बेलायतीलगायत संसारभरिका सञ्चारमाध्यमले प्राथमिकतासहित ठाउँ दिए । नेपालमा नाकाबन्दीविरुद्ध मोदीको ‘क्यारिकेचर’ गरिरहँदा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य दाइलगायतको हाम्रो समूह थियो ।

नाकाबन्दीविरुद्ध अन्तर्राष्ट्रिय समर्थन जुटाउन त्यो ‘क्यारिकेचर’ ले ठूलो भूमिका खेल्यो । भारतकै नेपाललाई माया गर्ने मित्रशक्तिले सकारात्मक सन्देश दिएर आफ्नै सत्ताधारीलाई खबरदारी गर्न र नेपालविरुद्धको गतिविधि रोक्न उत्प्रेरणा जगायो । त्यसमा ‘क्यारिकेचर’ को समेत हात रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *