जुम्लाका आठ स्थानीय तहका स्वाब सङ्कलन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा कोभिड–१९ विपद् व्यवस्थापन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको टोलीले जुम्लाका आठ स्थानीय तहका स्वाब सङ्कलन गरेको छ । नेपाल सरकारको कोभिड– १९ विपद् व्यवस्थापन केन्द्रीय ओपिपिएस मेडिकल टोली काठमाडांैबाट जुम्ला आइ स्वाब सङ्कलन गरेको हो । त्यसमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य जनशक्तिले सहयोग गरेको छ ।
केन्द्रबाट आएको नेपाल प्रहरी र प्रतिष्ठानका मेडिकल टोलीले तीन स्थानमा पुगेर ३२४ जनाको स्वाब सङ्कलन गरेको छ । टोलीले हेलिकप्टरबाट पहिले जुम्ला विमानस्थलमा चन्दननाथ नगरपालिका, तातोपानी, तिला, गुठिचौर र पातारासी गाउँपालिकाका १५० जनाको स्वाब सङ्कलन गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले कनकासुन्दरी गाउँपालिकाको लासीपाटनमा ५० र हिमा गाउँपालिकाको देवारगाउँ टापुमा १२४ को स्वाब सङ्कलन गरिएको जानकारी दिनुभयो । यसैगरी सिञ्जा गाउँपालिकाका ५२, कनकासुन्दरी गाउँपालिकाका ४७ र हिमा गाउँपालिकाका ४५ गरी २५३ जनालाई अनिवार्य उपस्थित हुन निर्देशनात्मक सूचना जारी गरेपछि छुटेका सहित सवै आएपछि ३२४ जनाको स्वाब सङ्कलन गरिएको प्रजिअ बञ्जाडेले थप्नुभयो ।
सङ्कलित सबै स्वाब काठमाडांै पठाइएको प्रजिअ बञ्जाडेले जानकारी दिनुभयो । स्वाब सङ्कलन गर्न जुम्ला विमानस्थलमा प्रहरीको केन्द्रीय प्रयोगशालाका डा. रुजु केसीको नेतृत्वसहित चार, कनकासुन्दरीको लासीपाटनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक डा. मंगल रावल र हिमा गाउँपालिकाको देवारगाउँ टापुमा प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुनमगर नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोली संलग्न थियो ।