मलंगवामा दुईवटा अबैध मदिरा भट्टी भत्काइयो

सर्लाही सदरमुकाम मलंगवामै अवैध रुपमा सञ्चालित दुईवटा भट्टी पसल प्रहरीले बिहिवार भत्काएको छ । जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीको नेतृत्वमा खटिएको प्रहरी टोलीले मलंगवा नगरपालिका–१० का जगरनाथ साह र अमरनाथ साहको घरमा सञ्चालित अबैध भट्टी पसल भत्काएको हो । दुईवटा भट्टीबाट करीब एक हजार लिटर घरेलु मदिरा, ठूलो परिमाणमा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ र मदिरा बनाउन प्रयोग हुने भाँडा बरामद गरिएको प्रहरी निरीक्षक कुर्मीले बताए ।

विषाक्त घरेलु मदिराको सेवनबाट छिमेकी जिल्ला धनुषामा झण्डै दुई दर्जनको मृत्यु भएपछि सर्लाही प्रहरीले यहाँ घरेलु मदिरा उत्पादन गर्ने भट्टी खोजी–खोजी नष्ट गरिरहेको छ । प्रदेश सरकारले समेत आठ वटै जिल्लाका प्रहरीलाई घरेलु मदिरा नष्ट गर्ने अभियान सञ्चालन गर्न निर्देशन दिइसकेको छ ।
सोही निर्देशन अनुसार सर्लाही प्रहरीले विषाक्त घरेलु जाँड–रक्सी उत्पादन गर्ने भट्टी पसलहरु नष्ट गर्ने अभियान जारी राखेको छ ।