अन्तरजातीय विवाह गरी न्याय खोज्दै ः दुल्हा दुल्ही

अनिता साह
१८ माघ / सर्लाही
सर्लाहीमा अन्तरजातीय विवाह गरेका दुल्हा दुल्ही न्याय खोज्दै अधिकारकर्मी तथा पत्रकारहरुको शरणमा मलंगवा पुगेका छन् । विष्णु गाउँपालिकाका एक नवविवाहित जोडी सँगै बस्ने वातावरण बनाइदिनको लागि सदरमुकाम मलंगवामा आएर अधिकारकर्मी तथा पत्रकारहरुलाई आग्रह गरेका छन् ।

एक अर्का सँगको प्रेम सम्बन्धमा परेर जिल्लाको विष्णु गाउँपालिका वडा न – ३ मधुवनगोठका (स्वर्गिय राजेन्द्र राम ) का छोरा वर्ष १८ का विवेकानन्द राम (उर्फ चुन्नु) र सोही ठाउँका सिताराम साह तेलीकी २२ वर्षीया छोरी सुनिता कुमारी साहले गत पुस २५ गते गाउँबाट निस्कि धनुषाको जनकपुरधाममा गएर माघ ६ गते राजदेवी मन्दिरमा विधिपुर्वक अन्तरजातीय विवाह बन्धनमा बाँधिएर सोही ठाउँ (जनकपुरधाम वडा न(९ स्थित सरस्वती स्कुल नजिक) मा डेरा गरि बस्दै आएका केटा(विवेकानन्द) र उनका परिवारका सदस्यहरु उपर केटीका बुवा(सिताराम)ले छोरीलाई अपहरण गरेर लगेको स्थानीय प्रहरी चौकीमा निवेदन दिएर घरका अन्य सदस्यहरुलाई पक्राउ गराएर मानसिक यातना दिएको र सम्बन्ध छुट्याउन जेसुकै पनि गर्न सक्ने खालका धाक धम्कीहरु दिँदै परिवारमाथि नै आक्रमण गरेको जानकारी पाएपछि उनिहरु माघ १७ गते (सरस्वती पुजाको भोली पल्ट) सदरमुकाम मलंगवा स्थित नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीको कार्यालयमा आएर अधिकारकर्मीहरुको रोहवरमा पत्रकार सम्मेलन गरि न्यायको लागि गुहारेका छन् ।

दुल्हा दुल्हीले भने जस्तोसुकै परिस्थिति आएपनि हामी एक अर्कालाई छाडेर नबस्ने र यदी हामीलाई छुट्टाउन खोजे अथवा श्रीमानको परिवारमाथि कुनै किसिमको आँच आए आफु आत्महत्या समेत गर्ने सुनिता(दुल्ही)ले अधिकारकर्मी तथा पत्रकारहरुलाई बताइन् । तर केटा पक्षले भने एउटा दलितको छोरालाई आफ्नो ज्वाइँको रुपमा स्विकार गर्न नचाहेको बताउँदै आएको छ । छोरीले घर छाडेर गएको केही दिन पछि उनले केटाको दाजु सच्चिनानन्द राम उनको सालो र भिनाजु पवन कुमार रामलाई प्रहरी लगाएर प्रहरी चौकी मधुवनगोठमा दुइदिन सम्म थुन्न लगाई पछि पवनको बुवा रामबचन राम र मंजु रामको रोहवरमा केटाकेटी दुवैजनालाई माघ १८ गते भित्रमा जिल्ला प्रहरी कार्यालय मलंगवामा हाजिर गराउने सर्तमा जमानतमा छाडेका थिए । नागरिकता अनुसार सुनिताको विवाह गर्ने उमेर पुगिसकेको तर केटाको उमेर पुग्न अझ केही समय बाँकी रहेको तर विपक्षीहरुले आफुहरु माथि गरिरहेको हस्तक्षेपका कारण समस्या उत्पन्न भएको भन्दै उनिहरुले एकैसाथ सुरक्षा र स्वतन्त्रता पुर्वक बाँच्न पाउनुपर्ने माग समेत गरेका छनर ।