सरकार र सर्लाहीका उखु किसानबीच पाँचबुँदे सहमति, आन्दोलन स्थगित

अनिता साह
१८ पुस / शुक्रबार /
सरकार र सर्लाहीका उखु किसानबीच आज पाँचबुँदे सहमति भए लगते आन्दोलन स्थगित भएको छ । उखु किसानहरुलाई सर्लाहीका अन्नपूर्ण चिनी मिलले दुई वर्षदेखिको रकम नदिएको गुनासो गर्दै किसानहरु काठमाडौंमा आएर धर्ना बसेका थिए । ७० हिउँद काटेका महतोले धरधरी आँशु बगाउँदै आफ्नो पीडा सञ्चारकर्मीलाई सुनाएका थिए । उनको यो रुवाई उखु कृषकहरुले भोगिरहेको पीडाको प्रतिबिम्ब झैं बनिरहेको छ । किसानहरुको पीडाले सञ्चार माध्यमहरुमा प्राथमिकता पाएपछि भने सरकारले चासो देखाएका थिए ।

सरकार चिनी मिल सञ्चालकहरुलाई बोलाएर किसानको पैसा दिन ताकेता गरेपछि अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेशकुमार अग्रवालले शुक्रबार किसानहरुको खातामा ५० लाख रुपैया पठाएको र बाँकी रकम पनि पुस २५ गते भित्र दिने समेत बाचा गरे । लगतै उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आन्दोलनरत किसानहरुलाई वार्तामा बोलाए । वार्तामा किसानहरुले १२ बुँदे माग पत्र पेश गरेका थिए ।तर पाँचबुँदामा सहमति जुटेको छ ।

सहमतिअनुसार माघ ७ गतेभित्र उखु किसानको बाँकी रकम झुक्तानी गरिसक्ने व्यवस्था मिलाउन उद्योग मन्त्रालय आफैंले समन्वय गर्नेछ । यस्तै किसानहरुलाई सरकारले दिने अनुदान समयमै उपलब्ध गराउन मन्त्रालयले अर्थ र कृषिलाई लेखेर पठाउने, किसानको भुक्तानी र चिनीको आपूर्तिमा कुनै समस्या वा गुनासो भए सम्बोधन गर्न मन्त्रालयको आपूर्ति व्यवस्थापन महाशाखालाई सम्पर्क महाशाखा तोक्ने र उखु किसानका आन्दोलनका सबै कार्यक्रम स्थगित गर्ने सहमति भएको छ ।

सहमतिको मस्यौदामा आन्दोलनका कार्यक्रम फिर्ता गर्ने भन्ने शब्द परेको थियो । सहमतिपत्रमा मन्त्रालयका सहसचिव दिनेश भट्टराईले हस्ताक्षर गरे भने किसानहरुको तर्फबाद्ध संघर्ष समितिका सचिव हरिश्याम रायसँगै रामविलास महतो, बेचन राय यादवले हस्ताक्षर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *