जनशक्तिको अभावमा पनि उल्लेख्य उपलब्धि हाँसिल गरेको मन्त्री सोनलको दाबी

काठमाडौं, । प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले धनशक्ति र जनशक्तिको अभावमा पनि आफूहरुले उल्लेख्य उपलब्धि हाँसिल गरेको दाबी गरेका गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘प्रतिकुल अवस्थामा पनि हामीले तदारुकताका साथ काम गरेर उल्लेख्य उपलब्धि हाँसिल गरेका छौं । चौतर्फी कामहरु भइरहेका छन् ।’

मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै मन्त्री सोनलले सीमित स्रोत र साधनको बाबजुदपनि प्रदेश नम्बर २ को सरकारले राम्रो काम गरेको स्पष्ट पार्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘हामीसँग लिमिमेट रिसोर्स छन् । हामीसँग न्यूनतम बजेटपनि छैन् । केन्द्र सरकारलाई हामी आग्रह गरिरहेका छौं । केन्द्रले पनि हामीसँग समन्वय गरोस् । हाम्रा सम्भावनाहरुमा केन्द्रले प्रचुर लगानी गरोस् ।’

आयोजित उक्त साक्षात्कारमा बोल्दै उहाँले काम गर्नका लागि आवश्यक जनशक्तिको पनि अभाव रहेको गुनासो पोख्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो प्रदेशमा जम्मा ५ हजार कर्मचारी आवश्यक भएकोमा अहिलेसम्म तीन हजार कर्मचारी संघले पठाएको भन्छ, तर, हामीसँग अहिलेसम्म २ हजार कर्मचारीमात्रै पुगेका छन् ।’

मन्त्री सोनलले २ नम्बर प्रदेशमा अहिलेसम्म ६०–७० प्रतिशत मात्रै कर्मचारी पुगेको स्पष्ट पार्नुभयो, ‘कतिपय कार्यालयहरुमा कर्मचारीको रिक्तता छ । हामीसँग म्यानपावर पातलो छ । अझै कार्यालयमा सचिवहरु छैनन् ।’

अहिलेपनि पूर्वाधार विकास कार्यालयको अभाव रहेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘२ नम्बर प्रदेशमा ८ वटा जिल्ला छन्, हामीसँग अहिलेसम्म चार वटामात्रै पूर्वाधार विकास कार्यालय छन् । एउटा जिल्लामा एउटा पूर्वाधार विकासको कार्यालय हुनुपर्छ ।’

उनले प्रदेश नम्बर २ को सरकार प्राथमिकीकरण तय गरेर नै अघि बढिरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘हामी आफैंले तय गरेका प्राथमिकीकरणलाई सम्बोधन गर्ने हिसाबले अघि बढिरहेका छौं । विकास निर्माणका काम द्रुत गतिमा अघि बढाएका छौं । रोड कनेक्टिभिटीमा जोड दिएका छौं । सामान्य जनताको पहुँमा बाटोघाटो पुर्याउने लक्ष्यसहित काम गरिरहेका छौं ।’

उहाँले रोड कनेक्टिभिटीअन्तर्गत पालिकादेखि पालिकासम्म सडकको पहुँच बनाउने, पालिकादेखि सदरमुकामसम्म र ती बाटाहरु राजमार्गसम्म जोड्नेगरि काम गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘त्यसपछि प्रदेशको सदरमुकाम जोडने बाटो बनाउँछौं ।’

जहाँ सडक त्यहाँ विकास भन्ने मान्यता रहेकोले आफूहरु पनि सोही भावनाका साथ अघि बढिरहेको उहाँको भनाइ छ । नभएका ठाउँमा सडक बनाउने र भएका सडकहरुको स्तरोन्नती गर्नेगरि आफूहरुले काम गरिरहेको मन्त्री सोनलको भनाइ छ ।

२ नम्बर प्रदेश कृषिमा आधारित प्रदेश भएकोले कृषिको उत्पादन बढाउनेगरि काम गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘२ नम्बर प्रदेशको कृषिको उत्पादनले यो प्रदेशमा मात्रै नभएर पुरै देशलाई धान्न सक्छ । तर, कृषिको प्रथम शर्त भनेको सिँचाई हो ।’ डिप बोरिङको माध्यमबाट पनि सिँचाई गरिने उहाँले जनाउनुभयो ।
२ नम्बर प्रदेश पर्यटन हिसाबले पनि सवल र सम्भावना बोकेको प्रदशे भएको उल्लेख गर्दैै उहाँले धार्मिक पर्यटनलाई बढावा दिनेगरि काम गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘जानकी मन्दिरको कुरा गर्नुहोस, बाराको गढीमाई, सप्तरीको सखडादेवी, सिरहाको सलहेश, महोत्तरीको परौल नै किन नहोस्, हामीसँग धार्मिक महत्व बोकेका पर्यटकीय स्थलहरु छन् ।’

पूर्वाधार विकासमात्रै नभएर उनले मानवीय विकासको लागि पनि प्रदेश सरकार प्रभावकारी रुपमा अघि बढिरहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘महिलाहरुको शिक्षाको लागि पनि हामीले काम गरिरहेका छौं । मानव सूचांक विकासमा हाम्रो प्रदेशको अवस्था तल छ । यसको लागि शिक्षा, स्वास्थ्य र सामाजिक चेतना अभिवृद्धि गर्नुपर्छ । हामीले अहिले यसको लागि पनि अभियान बनाएर काम सुरु गरेका छौं । तराई मधेशमा दाईजो प्रथा छ । यसलाई हटाउनुपर्छ । अहिले हामीले बेटी बचाउ, बेटी पढाउन अभियानपनि चलाएका छौं ।’

उहाँले सामाजिक संघ–संस्थाहरुसँग मिलेर समाज व्याप्त सबैखाले कुरिती, अन्धविश्वास हटाउन लागिपरिरहेको बताउनुभयो ।

कृषि, भौतिक पूर्वाधार, धार्मिक पर्यटनको अलावा सोलार उर्जाको पनि आफ्नो प्रदेशमा प्रचुर सम्भावना रहेको उहाँले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी अब २ सय मेगावाट सोलार ईनर्जी उत्पादन गर्ने तरखरमा छौं । यसको लागि विद्येयक मस्यौदा गरेर प्रदेश संसदमा पठाएका छौं । सोलार ईनर्जीको लागि लगानी गर्न भारतीय, चिनियाँ र युरोपियनहरु ईच्छुक छन् । अब २ नम्बर प्रदेश अब उज्यालो प्रदेशको रुपमा विकास हुँदैछ ।’