जमुनियाँको गढीमाई नै मुख्य गढीमाई -पुजारी

सर्लाहीको कविलासि नगरपालिका वडा नं. ६ जमुनियाँमा रहेको गढीमाई नै मुख्य गढीमाई रहेको पुजारी असर्फि राउतले बताउनुभयो । बुधबार जमुनियाँको गढीमाईमा आयोजित कलश यात्रा कार्यक्रममा पुजारी राउतले जमुनियाँको गढीमाई मुख्य गढीमाई रहेको बताउदै पहिला जमुनियाँको गढीमाईमा बति बलेपछि नै बाराको गढीमाईको बति बल्ने गरेको दावी गर्नुभयो । उहाँले परापुर्व समय देखि नै बाराको गढीमाईको पुजाकोलागि जमुनियाँको माटो लाने गरेका जानकारी गराउदै उहाँले आफुहरुले सात पुस्तादेखि गढीमाईको पुजारीको रुपका काम गर्दै आएको बताउनुभयो ।
बुधबार निकालिएको गढीमाईको कलश यात्रा पछि आयोजित कार्यक्रमलाई सम्बोधन गदै प्रदेश नं. २का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि राम नरेश रायले जमुनियाँको मन्दिर ऐतिहासिक र पुरानो रहेको दावी गर्दै आफुहरुले यसलाई प्रदेश नं.२को पर्यटक स्थलको रुपमा बिकसित गर्ने बताउनुभयो । कार्यक्रममा मन्त्रि रायले सो स्थानमा लाग्ने मेला ब्यस्थापनका लागि तत्काल ५१ हजार आर्थिक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै आवश्यक कागजात मन्त्रालयमा पेश गरेपछि गढीमाई मन्दिर स्थललाई २ नम्बर प्रदेशको पर्यटकीय क्षेत्रको सूचीमा पारेर भब्य मन्दिर निर्माणको लागि बजेट समेत उपलब्ध गराउने आश्वासन दिनुभयो ।

प्रत्येक पाँच वर्षको अन्तरालमा लाग्दै आएको पंचवर्षिय गढिमाई मेला सर्लाहीको कविलासी नगरपालिका वडा नम्बर ६ जमुनियामा बिहिवारबाट विधिवत रुपमा शुरु हुने भएको छ । मेलाको बुधवार दिउँसो एक भब्य धार्मिक कार्यक्रममा बिच कलश यात्रा निकाले पश्चात प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश राय यादवले उद्घाटन गर्नुभएको हो । उदघाटन समारोहमा मन्त्री यादवसँगै कविलासी नगरपालिकाका मेयर कौशल किशोर राय, पूर्व सांसद हरेश महतो, नेपाली कांग्रेसका नेता कृष्णदेव राय, राजपा नेपालका केन्द्रीय सह–महामन्त्री जेपी यादव लगायतले सम्वोधन गरेका थिए ।

कविलासी नगरपालिका वडा नम्बर ६ जमुनियाँका वडाध्यक्ष एवं गढिमाई मेला आयोजक समितिका संयोजक कोदैइ मुखियाको सभापतित्वमा सम्पन भएको कार्यक्रमको संचालन भने पत्रकार महासंघ सर्लाहीका कोषाध्यक्ष राम गोविन्द यादवले गरेका थिए ।
गढीमाई मेलामा मंसिर १७ र १८ गते बोकाको बली दिने र परेवा उडाउने व्यवस्था मिलाइएको छ भने रागाँ बली दिनेहरुका लागि भने १७ गते नै व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । यसअघिको मेलामा ४७५ वटा राँगा तथा हजारौं बोकाको बली चढाइएको थियो । विगत २५ वर्षदेखि लाग्दै आएको यस मेलामा यसवर्ष बली स्वरुप चढाइएका रागाँको बिक्रीका लागि २१ लाख ५ हजारमा ठेक्का लागेको मेला समितिले जनाएको छ । उक्त मेलामा नेपाल सहित भारतबाट समेत हजारौंको संख्यामा श्रद्धालुहरु गढीमाईको दर्शन र बली चढाउन आउने गरेका छन् भने यो मेला मंसिर १८ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *