सर्लाहीमा पनि भारतको विरोध

अनिता साह
२१ कार्तिक / मलंगवा /
भारतले नेपाली भूमि भारतीय भूमिमा पारेर नयाँ नक्शा सार्वजनिक गरेपछि सर्लाहीको मलंगवामा पनि त्यसको विरोध शुरु भएको छ । भारतले केही दिनअघि सार्वजनिक गरेको नयाँ नक्शाको विरोध र सरकारको मौनताको आलोचना गर्दै बिहीबार बिहान ७ बजे सर्लाही क्याम्पसका विद्यार्थीहरूले मलंगवामा प्रदर्शन गरेका छन् । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले भारतबाट हालै जारी भएको नयाँ नक्शामा लिपुलेक र कालापानी समावेश भएकोमा विरोध गर्दै प्रदर्शन गरेको छ ।

‘लिपुलेक हाम्रो हो’ लेखिएको प्ले कार्डसहित मलंगवा सहिद चौक बाट समीमबाबु पठानको नेतृत्वमा प्रदर्शन भएको हो । उनीहरूले लिपुलेक, कालापानी हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद ! भन्दै चर्को नारा समेत लगाएका थिए । विद्यार्थीहरुले ‘गो व्याक इण्डिया’ को नारा लगाएका छन् । भारतले नेपाली भूमि आफ्नो नक्शामा राखेर सार्वजनिक गरेपछि विद्यार्थी संगठनहरु मात्र होइन राजनीतिक दलका नेता र वुद्धिजीविहरु समेत यसकोे विरोधमा उत्रिएका छन् । उनीहरुले सामाजिक सजालमा सरकारको समेत कडा आलोचना गरेका छन् ।

भारतले भर्खरै सार्वजनिक गरेको नक्शामा नेपाली भूमि कालापानी, लिपुलेकलाई भारतीय सीमाभित्र राखिएको छ । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्रलाई समेत भारतीय भू–भागकै रुपमा आफ्नो नक्शामा समावेश गरेपछि केहि सत्तापक्ष तथा विपक्षी नेताहरु, बुद्धिजीवि र सर्वसाधारणले सामाजिक सञ्जालमार्फत् त्यसलाई सच्याउन कुटनीतिक पहल गर्न सरकारलाई दबाब दिएका छन् ।

भारत सरकारले गत शनिबार नयाँ राजनीतिक नक्सा जारी गर्दा नेपाल, भारत र चीनको त्रिदेशीय विन्दूमा अवस्थित नेपाली भागसमेत आफ्नो नक्सामा समेट्दा पनि नेपाल सरकारले त्यसमा कुनै धारणा समेत सार्वजनिक नगर्नुका साथै पहलकदमी नलिएकोमा चर्को आलोचना भएको छ । त्यस्तै अन्य सामाजिक सञ्जाल स्वतन्त्र प्रयोगकर्ताहरुले पनि सरकार तथा राजनीतिक दलहरुलाई सो विषयमा सशक्त ढङ्गबाट आवाज उठाउनुका साथै प्रभावकारी कदम चाल्न दबाब दिएका छन् ।,

Leave a Reply

Your email address will not be published. Required fields are marked *