बमकाण्डको आरोपमा पक्राउ परेका आलमको बयान दोस्रो दिन आज पनि जारी

२० कात्तिक / रौतहट /
रौतहटको राजपुरमा भएको बमकाण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता मोहमद अफताब आलमको बयान दोस्रो दिन आज पनि जारी रहेको छ । बुधबार जिल्ला अदालत रौतहटको चार नम्बर इजलासमा आलमको बयान जारी रहेको हो । न्यायाधीश दिपक ढकालको इजलाशमा आलमलाई मिसिल अनुसार प्रश्न सोध्ने र त्यसको जवाफ लिने कार्य भइरहेको सरकारी वकिल खडिन्द्रराज कटुवालले बताए ।

हत्या आरोपमा पक्राउ परेका निलम्बित सांसद मोहमद अफताब आलमसँग जिल्ला अदालतमा बुधबार पनि बयान लिइरहेको छ । न्यायाधीश दीपक ढकालको इजलासमा मंगलबार नेता आलमसँग बयान लिएका थिए । बयानका लागि बिहान साढे १० बजेतिर अदालत लगिएको थियो । तर, सवा ३ बजे मात्रै बयान सुरु भएको थियो । कटुवालका अनुसार ८७८ पानाको मिसिलमा भएका प्रश्नहरु सोध्दा निकै समय लाग्ने भएकाले बुधबार आलमको थुनछेक बहस हुने सम्भावना न्यून छ । ‘आजको स्थिति हेर्दा बयानसम्म समाप्त हुन्छ होला’, उनले भने, ‘बयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ ।

’ मंगलबार मुख्य घटना सम्बन्धी प्रश्न सोध्न नपाउँदै समय समाप्त भएपछि आलमलाई पुनः बयानका लागि अदालत लगिएको थियो । यसैगरी पीडितवादीतर्फबाट बहसका लागि पूर्व महान्यायधिवक्ता डा. युवराज संग्रौलासहित अधिवक्ता पुष्पराज पौडेल, आशिकराम कार्की रौतहटमा छन् भने अधिवक्ता गोविन्द शर्मा बन्दी र ओम प्रकाश अर्याल पनि आउँदै गरेको जनाइएको छ । प्रतिवादीतर्फबाट बहस गर्न कानून व्यवसायी आए पनि वकालतनामा गर्न बाँकी रहेको जिल्ला अदालत रौतहटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *