लोकसेवा अध्यक्ष उमेश मैनालीद्धारा राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश

काठमाडौँ /
लोकसेवाका अध्यक्ष उमेश मैनालीद्धारा राष्ट्रपतिसमक्ष ६० औँ वार्षिक प्रतिवेदन पेश गरेका छन् । शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीलाई मैनालीले आर्थिक वर्ष २०७५ र ०७६ को प्रतिवेदन पेश गरेका छन् । आयोगले हरेक वर्ष आफूले सम्पादन गरेको कामको प्रगति विवरण राष्ट्रपतिसमक्ष पेश गर्ने चलन रहेको छ । सो अवसरमा आयोगका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

पहिलो चोटी आयोगले २०१६ सालमा वार्षिक प्रतिवेदन प्रस्तुत गरेको थियो । प्रतिवेदनमा प्रशासनिक र वित्तीय स्थिति, परीक्षण प्रविधि, शैक्षिक योग्यता र पाठ्यक्रमसम्बन्धि भए–गरेका काम, विज्ञापन र दरखास्तसम्बन्धी विवरण, परीक्षासम्बन्धी विवरण, अन्तर्वार्ता र सिफारिससम्बन्धी विवरण, समावेशी पदपूर्तिसम्बन्धी विवरण रहेका छन् ।

त्यस्तै प्रतिवेदनमा आयोगमा परेका उजुरीका सम्बन्धमा भएका निर्णय, स्थानीय तहको पदपूर्ति, सुरक्षा निकाय र सङ्गठित संस्थाको पदपूर्ति सम्बन्धमा आयोगबाट भएका काम, साङ्गठनिक सुधार र नवप्रवर्तनीय कामसमेत उल्लेख गरिएको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार गत आवमा आयोगले ८७ बैठक गरी २९७ वटा निर्णय गरेको छ । प्रतिवेदनमा आयोगले स्थानीय तहका विभिन्न तहका पदका लागि ३० वटा पाठ्यक्रम निर्माण गरेको उल्लेख गरिएको छ ।,