संघीय सरकारको जोडबलमा आजदेखी तीन दिनसम्म संविधान दिवस भव्य रुपमा मनाइँदै

२ असोज / जनकपुरधाम
संघीय सरकारको जोडबलमा आजदेखि तीन दिनसम्म संविधान दिवस भव्य रुपमा मनाइँदैछ । मुख्यमन्त्री लालबाबु राउतकै नेतृत्वमा प्रदेशस्तरीय मूल समारोह समिति बनेको छ भने तीनदिने कार्यक्रम पनि तय गरेको छ । मुख्यमन्त्री कार्यालयका सचिव शंकर सुवेदीका अनुसार पहिलो दिन आज २ गते सरसफाई र डेंगु रोगबारे जनचेतनामुलक कार्यक्रम हुनेछ । असोज ३ गते बिहान ६ः३० बजे जानकी मन्दिरदेखि मुख्यमन्त्री कार्यालयसम्म प्रभातफेरी हुनेछ । जनकपुरधामको जीरोमाइल चोकदेखि बसपार्कसम्म सरसफाई गर्दै डेंगु रोग नियन्त्रणबारे जनचेतना फैलाइदै छ । तेस्रो तथा अन्तिम दिन मधेस भवन परिसरभित्र सरसफाई तथा बृक्षारोपण गर्ने तय भएको छ । तीनै दिन साँझ प्रदेश दीपावली गरिने मुख्यमन्त्री कार्यालयका सचिव सुवेदीले बताए । प्रदेश सरकारले संविधान दिवसको तयारी गरिरहँदा सरकारको नेतृत्वकर्ता दल समाजवादी पार्टीले निर्णय गर्याे, खुसीयालीमा दिपवली पनि नगर्ने, विरोधमा कालो दिवस पनि मनाउने । यसबारे मुख्यमन्त्री राउतले केही बोलेका छैनन् । उनीनिकट एक नेताका अनुसार प्रदेश सरकार र मुख्यमन्त्रीका लागि संविधान दिवस निल्नु र ओकल्नुजस्तै भएको छ । किनकि संविधान अनुसार बनेको प्रदेश सरकारको मुख्यमन्त्री जस्तो गरिमाय पदमा बसेका छन्, कालो दिवस मनाउने भन्न पनि मिलेन । संविधान संशोधनको राजनीतिक मुद्दा सम्बोधन भएको छैन, दीपावली गर्न सकिन्न । मुख्यमन्त्री राउतले गत वर्षकै शैली अपनाउने सम्भावना छ । यसलाई उनकै पार्टीका नेतासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले पुष्टि गरे । पार्टीको निर्णयअनुसार आफूसहित कार्यक्रममा सहभागिता नहुने यादवले बताए । संविधानमा धेरै उपलब्धी भएकाले संविधान जलाउनेतर्फ पनि नजाने, तर त्रुटी सच्याउन संशोधन नभएसम्म औपचारिक कार्यक्रममा सहभागी पनि नहुने उनले बताए । सरकारमा सहभागी राजपाका मन्त्रीहरु भने कालो दिवस कार्यक्रममा नै सहभागी हुने भएका छन् । राजपाले संविधान दिवसका दिन बिरोध कार्यक्रम गर्ने र राति ७ बजे १५ मिनेट ब्ल्याक आउट गर्ने कार्यक्रम राखेकाले त्यसअनुसार नै गर्ने मन्त्रीहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *