सर्लाहीका उखु किसानले पाँच बुँदे सहमतिपछि रिले अनसन तोडयो

जेठ ०६ / सर्लाही / उद्योगीसँग पाँच बुँदे सहमति भएपछि सर्लाहीका उखु किसानले सोमबार साँझबाट रिले अनसन स्थगित गरेका छन् । उद्योगमा उखु बिक्री गरेको लामो समयसम्म पनि पैंसा नपाएको भन्दै जिल्लाको दक्षिण–पश्चिम भेगका किसानले आईतबारदेखि सदरमुकाम मलङ्गवास्थित शहीद चौकमा रिले अनसन सूरु गरेका थिए । जिल्ला प्रशासन कार्यालयको पहलमा आज भएको वार्तापछि उद्योगी र आन्दोलित किसानबीच पाँच बुँदे सहमति भएको हो ।

प्रजिअ द्रोण पोखरेलको रोहवरमा गरिएको वार्तामा अन्नपूर्ण सुगर मिल्स धनकौलमा मौज्दात रहेको चिनी र मोलासिस बिक्री गरेको रकममध्ये ८५ प्रतिशत रकम पहिले उखु बिक्री गर्ने किसानलाई दिनुपर्ने, विगत वर्षको भुक्तानी दिन बाँकी रहेको रु १२ करोड ५० लाख असार मसान्तभित्र दिनुपर्ने, राज्यबाट प्रदान गरिने ६५ रुपैयाँ २८ पैसा अनुदान रकम यही जेठ मसान्तभित्र किसानको खातामा पठाउनुपर्ने, किसानको खातामा जम्मा गर्ने रकम र सो बमोजिमको विवरण तथा भरपाई १५–१५ दिनमा कोष तथा लेखा नियन्त्रक कार्यालयमा उपलब्ध गराउनुपर्ने निर्णयमा दुवै पक्षबीच सहमति भएको बताइएको छ । वार्तामा किसानले बगदह भन्दापनि धनकौल मिलले वर्षेनी भुक्तानिमा समस्या दिने गरेको भन्दै गुनासो पोखेका थिए ।

पाँच बुँदे सहमतिसँगै आजै साँझ प्रमुख जिल्ला अधिकारी पोखरेलको हातबाट जुस पिएर रिले अनसनमा बसेका किसानले अनसन स्थगित गरेका हुन् । किसानले आजको सहमति अनुसार चिनी मिलबाट लामो समयदेखि रोकिएको भुक्तानि पाउने अपेक्षा गरेका छन्