चिसो पानीको लागि माटोको गाग्रोको बिक्री बढ्यो

Please follow and like us:

३० जेठ / सर्लाही/ चिसो पानीको लागि माटोको गाग्रोको बिक्री बढ्यो, कुम्हारहरुको भनाइ रहेको छ । सदरमुकाम मलंगवा लगायत सर्लाहीका विभिन्न गाउँ सहर तथा छिमेकी भारतका साप्ताहिक हाटबजारहरुमा माटोका भाँडा बेचेर जीविकोपार्जन गर्दै आएका कुम्हारहरु यो व्यवसायबाट सन्तुष्ट रहेको बताएका छन् । अहिलेको प्रचण्ड गर्मी मौसममा माटोका गाग्रोको बिक्री निकै बढेको उनिहरुले बताएका छन् । विशेष गरि चाडपर्वमा र गर्मी बढेपछि माटोका भाँडाकुँडाको बिक्री बढ्ने गरेको बिर्ता टोलाका रामशरण पंडितले बताए । सर्लाहीको मलंगवा ,कौडेना,सिमरा, सुन्दरपुर, गोडैता,सिसौटिया, रामनगर (बिर्ता टोला) लगायतमा बसोबास गर्ने कुम्हारहरुले तयार पारेको माटोको गाग्रो किन्ने ग्राहकहरुको त्यस भेगका धेरैजसो बजारमा भिड लाग्ने गरेको छ । गर्मी मौसममा माटोका भाँडामा राखेको पानी चिसो हुने भएकाले तराईबासीका घरमा यसको प्रयोग बढी हुन्छ । सप्ताहमा २ देखि ३ हजार रुपैयाँभन्दा बढी मूल्य बराबर भाँडा बिक्री गर्दै आएको उनले बताए । माटोको गाग्रोमा पानी राख्दा फ्रिजमा जस्तै धेरै समयसम्म चिसो रहने भएकोले गर्मीको मौसममा यसको बिक्री बढी हुने र आम्दानी पनि राम्रै हुने भारतको सोनवर्षा बजारमा माटोका भाँडाकुडा बेच्न आएकी लालबन्दी(सोनवर्षा) गाउँकी नयनदुलारी देवी कुम्हारले बताइन् ।

चाडपर्वमा पुजापाठमा प्रयोग हुने सामाग्रीहर बढी बिक्री हुने गरेको र गर्मीमा भने घैला सुराही जस्ता भाँडाको व्यापार बढी हुने उनको अनुभव छ । फागुनदेखि गर्मी सुरु भएपछि भदौसम्म घैलाको बिक्री बढी हुने गरेको व्यापारी सुशील पण्डितले बताए । फ्रिज नहुनेको घरमा घैला लोकप्रिय छ ।यतिबेला उनलाई माटाको भाँडा बनाउने र बिक्री गर्न भ्याइनभ्याइ छ ।उनी घरमै माटोका भाँडा बनाएर बजार लाग्ने गाउँहरुमा पुग्छन् । दिपावली, छठ, चौरचन, विवाह लगायत विभिन्न चाडवाडमा भाँडा बनाउन भ्याइनभ्याइ हुने गरेको सुशील पण्डितले बताए । विगत डेढ दशकदेखि माटोको भाँडा बिक्री गरेर १३ जनाको परिवार पाल्दै आएको पंडित बताउँछन् ।आफुले दैनिक १० देखि १५ वटासम्म गाग्रोहरु बिक्री गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)