भारतबाट मदिरा सेवन गर्न आउने मानिसहरुको झगडा र होहल्लाका कारण स्थानीयबासीहरु पिडित, प्रहरी प्रशासन मुक दर्शक

Please follow and like us:

२९ जेठ/ सर्लाही / भारतबाट मदिरा सेवन गर्न आउने मानिसहरुको झगडा र होहल्लाका कारण स्थानीयबासीहरु पिडित भएका छन् । सर्लाहीका सिमा क्षेत्रमा पछिल्लो समय फस्टाउदै गएको अवैध मदिराको कारोवार प्रहरीले अझै सम्म रोक्न सकेन। सिमा क्षेत्रमा खटिएका नेपाली र भारतिय सुरक्षाकर्मीहरुले मदिराको अवैध कारोवार रोक्नका लागि गस्ती तथा निगरानीमा ढिलासुस्ती गर्ने गरेको कारण सर्लाहीका सिमा क्षेत्रमा खुला मदिराको अवैध कारोवार फस्टाउदै गएको हो । सिमा क्षेत्रका स्थानीयले भारतीयहरुले जथाभावी मदिरा सेवन गरेर स्थानीयहरुलाइ दुःख दिने गरेको गुनासो गरेका छन् । बिहारमा सबै खाले मदिरा सेवन, बिक्रीवितरण तथा ओसारपसारमा पुर्ण रुपमा प्रतिबन्ध लगाए देखि सिमा क्षेत्रका होटलहरुमा भारतीय मदिरा सेवन गर्नेहरुले गर्दा भरिभराउ हुने गरेको होटेल संचालकहरु बताउँछन ।
जिल्लाका सीमा क्षेत्रका स्थानीयहरुले सीमावर्ती क्षेत्रमा अवैध रुपमा खुलेआम मदिराको कारोवार भई रहदाँ समेत प्रहरी भने मुकदर्शक बनेर बसेको आरोप लगाएका छन् । अवैध मदिराको कारोबारबाट केहि सिमित ब्यक्तिलाई फाइदा भएपनि मदिरा सेवनले जथाभावी होहल्ला , झै (झगडा, गालिगलोच गर्दा हुने गरेको अशान्ति प्रति सिमावर्ती क्षेत्रका स्थानीयहरुले आपत्ती जनाएका छन् । साँझको २(३ बजेदेखि नै स्कारपियो, बोलैरो, मोटरसाइकल ,साइकल लगायतका सवारीसाधनमा र पैदल भारतको सोनवर्षा , रमनगरा, जयनगर, रजवाडा मुसहरनिया,दलकवा, लडकवा,इनरवा,चक्की मयुरवा,मढिया, फरछैंया, अररिया, दोस्तिया , भुतही इत्यादीसम्मका गाउँहरुबाट नेपाल भारत बोडर्रमा खोलिएका मदिरा पसलहरुमा सिलपैक र घरेलु मदिरा सेवन गर्न आउनेहरुको भिड लागेको देखिन्छ ।
भारतीयहरु नेपाली बजारमा आउनु भनेको कदापि नराम्रो होइन तर घुम्ने नाममा आएर यहाँका स्थानीय जनताहरुसंग मदिरा सेवन गरी जथाभावी झै झगडा गर्नु हुदैन बताउँदै मलंगवा नगरपालिका वडा न(५ भाँडसरका स्थानीय कुशेश्वर यादवले त्यस्तो कार्य गर्नेलाइ कारवाही गर्नु पर्नेमा जोड दिएका छन । बिहार राज्य सरकारले मदिरामा प्रतिबन्ध लगाए पछि भारतीयहरु नेपाली बजारमा आएर मदिरा सेवन गर्ने र आफ्नो आफन्त, साथीभाइ वा लजमा बसेर रात बिताउने गरेको सिमाक्षेत्रका स्थानीयहरु बताएका छन । सिमाक्षेत्रका स्थानीयहरुले होटलहरुमा अवेर राति सम्म रक्सी बिक्री वितरण हुँदा पनि कुनै कारवाही नगरिनुले प्रहरीकै मिलिमतोमा हुने गरेको हो कि आशंका गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)